हिराे बन्न चाहनुहुन्थ्याे सुशील दा

काठमाण्डु टुडे २०७१ असोज ९ गते ७:०९ मा प्रकाशित

अरुण कोइराला, प्रधानमन्त्रीका भाइ

arun koiralaभारतीय हिन्दू विश्वविद्यालय (बिएचय) बाट एमबिबिएस गरेका डा. अरुण कोइराला प्रधानमन्त्री सुशील कोइरालाका भाइ हुन् । वनारसमा बिपी कोइरालाको सानिध्यमा रही राजनीति सिकेका उनी नेपाली कांग्रेसका सक्रिय सदस्य हुन् । नेपाली कांग्रेसका बाँके जिल्ला सभापति डा. कोइराला बिपी र दाजु सुशीलसम्बन्धी आफ्नो संस्मरण यसरी सुनाउँछन् :

अहिले म राजनीतिमा पूर्ण रूपले सक्रिय छु । डाक्टरी पेसा चटक्कै छोडिदिएँ भन्दा पनि हुन्छ । घरमा आउनेहरूको समस्या सुनिदिने र पेस्क्रिप्सन दिनेबाहेक अस्पतालमा गएर बिरामीको उपचार गर्ने काम छोडिदिएको छु । डाक्टरी पेसामा थोरै पनि तलमाथि भयो भने बिरामीको ज्यान जान सक्छ । राजनीतिमा सक्रिय हुँदा बिरामीलाई पर्याप्त ध्यान दिन पाइँदैन । त्यही भएर डाक्टरी पेसा छोडिदिएको छु ।

मैले र सुशील दाले सान्दाजु (बिपी कोइराला)को निकट रहेर राजनीति बुझ्ने र यसमा सक्रिय हुने मौका पाएका हौँ । सान्दाजु र हाम्री आमा दिदीबहिनी हो । उहाँको र हाम्रो पिताजी सँगै दुम्जाबाट झर्नुभएको हो । राजनीतिसम्बन्धी धमिलो चेत सानैमा विकसित भए पनि यसलाई सान्दाजुकै सानिध्यमा परिष्कृत गर्ने मौका म र सुशील दालाई मिल्यो ।

२००७ सालमा सानो छँदै हामीले इनकलाब जिन्दावाद, जसको जोत उसको पोत, कमानेवाला खाएगा जस्ता नारा लगाएका थियौँ । मैले गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारीको साथ लागेर गाउँगाउँ डुल्ने मौका पनि पाएँ । यसबाट म राजनीतिमा भिज्दै गएँ । विराटनगरको कोइराला निवासमा प्राय: सधैं राजनीतिकै गफ हुन्थ्यो । म र दा त्यहीँ बस्थ्यौँ । कोइराला परिवारको वतावरण राजनीतिसम्बन्धी हाम्रो बुझाइ तिखार्न सहायक सिद्ध भयो ।

सुरुमा म कम्युनिस्ट विचारधाराप्रति प्रभावित थिएँ । सर्वहाराको अधिनायकत्वको विचारप्रति ममा आकर्षण थियो । राजा महेन्द्रले ०१७ सालमा ‘कु’ गरेपछि समाज र राजनीतिबारे मेरो बुझाइमा परिवर्तन आयो । महेन्द्रको कदमपछि अधिनायकत्व शब्दप्रति त्यसैत्यसै वितृष्णा जाग्न थाल्यो । सेना, राजा, कुनै व्यक्ति अथवा पार्टीविशेषको अधिनायकत्वले व्यक्तिको बोल्न पाउने अधिकार कुण्ठित गर्छ भन्ने मैले त्यतिवेला महसुस गरेँ । त्यसपछि सर्वहाराको अधिनायकत्वप्रतिको मोहलाई सदाका निम्ति त्यागिदिएँ । यस्तो नारा दिने मनमोहन अधिकारी, शैलेन्द्रकुमार उपाध्यायलगायत कम्युनिस्ट नेता कोही पनि सर्वहारा परिवारका थिएनन् । सर्वहाराको नाममा हुनेखाने परिवारका मानिसले अधिनायकत्व लाद्न खोजेको महसुस मलाई भयो । त्यसपछि म लोकतान्त्रिक मूल्य–मान्यताप्रति समर्पित भएँ ।

sushil koirala

डेमोक्रेसीप्रति म र सुशील दालाई नजिक्याउनमा सान्दाजुको व्यक्तित्व र विचारले ठूलो मद्दत पुर्‍याएको थियो । प्रजातन्त्रविना सम्पन्नता र स्वाधीनता दुवै सुनिश्चित हुन सक्दैन भन्ने सान्दाजुको विचारबाट हामी दुवै गहिरोसँग प्रभावित थियौँ ।

सान्दाजु पर्फेक्ट लिडर हुनुहुन्थ्यो । हेन्डसम हुनुहुन्थ्यो । व्यक्तित्व आकर्षक थियो । बोल्नमा पनि उस्तै तेज । बौद्धिकता उच्च कोटीको थियो । प्रस्ट भिजन थियो । अंग्रेजी भाषामा बलियो पकड थियो । उहाँका भारतीय मित्रहरू नेपाली जनताले उहाँलाई बुझ्न नसकेको गुनासो गर्थे । उहाँका साथी महावीरप्रसाद सिन्हाले सन् १९६८ तिर हामीलाई भन्नुभएको थियो, ‘विश्वेश्वरलाई नेपाली जनताले बुझेनन् । उहाँ भारतमा जन्मिनुभएको भए नेहरूलाई टक्कर दिनुहुन्थ्यो ।’

कतिपय कुरामा सान्दाजु ममाथि भरपर्ने गर्नुहुन्थ्यो । ०२७ सालमा नेविसंघ गठन हुन लाग्दा म सान्दाजुसँगै भारतमा थिएँ । नेपालबाट कृष्णप्रसाद भट्टराईले सान्दाजुलाई चिठी पठाउनुभयो । चिठी पढेपछि सान्दाजुले मलाई बोलाउनुभयो र भन्नुभयो, ‘मेरो सन्देश लिएर तैंले नेपाल जानुपर्‍यो ।’

‘मेरो जाँच छ सान्दाजु,’ मैले प्वाक्कै भनिदिएँ । सान्दाजुलाई यसरी हाकाहाकी जवाफ फर्काउने साहस हत्तपत्त कसैले गर्दैनथ्यो । सबै उहाँलाई बडो श्रद्धा गर्थे ।

‘जाँच भए पनि यो सन्देश तैंले नै लिएर जानुपर्छ,’ उहाँले भन्नुभयो । त्यतिवेला हामीविरुद्ध नेपालमा वारेन्ट जारी थियो । यस्तोमा भट्टराईसम्म सन्देश पुर्‍याउने भरपर्दो मानिस चाहिएकाले उहाँले मलाई पठाउन खोज्नुभएको हो जस्तो लाग्यो । म तयार भएँ ।

राष्ट्रिय मेलमिलापको नीति लिएर सान्दाजु नेपाल फर्किएपछि म पनि उहाँसँगै वनारसबाट फर्किएँ । फर्दर स्टडी गर्न पाइनँ । मेरो पढाइ एमबिबिएसमै रोकियो ।

०००

म, सुशील दालगायत चार दाजुभाइ कति वर्षका भयौँ भन्ने कसैलाई पनि थाहा छैन । हामी विराटनगर बस्दाताका २००८ सालमा चोरले हाम्रो बाकस लग्यो । ठूल्दाइ प्रमोदकुमार, माल्दाइ विनोदकुमार, सुशील दा र मेरो जन्मटिप्पणी त्यही बाकसमा थियो । बाकसमा खजाना छ भन्ठानेछ चोरले ।

कक्षा ७ मा भर्ना हुँदा फारममा ‘डेट अफ बर्थ’ भर्नुपर्दा मलाई अप्ठेरो पर्‍यो । अन्दाजी हालिदिएँ । दा ७३ वर्ष र म ७१ वर्षको भयौँ जस्तो लाग्छ ।

६ भाइमध्ये हामी चारजनालाई पिताजीले वनारसमा पढाउनुभयो । सुशील दा ग्य्राजुएसनमै सीमित हुनुभयो । राजनीतिमा बढी नै सक्रिय भएकाले उहाँले पढाइलाई निरन्तरता दिन पाउनुभएन । ठूल्दाइ पनि राजनीतिमा लाग्नुभएको थियो । सात सालको क्रान्तिमा बन्दुक बोकेर उहाँ युद्धमोर्चामा खटिनुभएको थियो ।

सुशील दापछिको भाइ म हुँ । ‘एज ग्याप’ त्यति नभएर पनि होला दासँग मेरो सानैदेखि आत्मीय सम्बन्ध थियो । सानोमा हामी सँगै खेल्थ्यौँ । विशेषगरी क्रिकेट र फुटबल खेल्थ्यौँ । क्रिकेटमा भन्दा फुटबलमा दाको बढी रुचि थियो । कहिलेकाहीँ म गोलकिपर बस्थेँ । दाले कहिल्यै गोलकिपर बस्न मन गर्नुभएन । फरवार्ड खेल्नमै रुचि राख्नुभयो ।

मभन्दा बढी चकचके हुनुहुन्थ्यो दा । तर, उछृङ्खल होइन । उहाँभन्दा म अझ बढी शान्त स्वभावको थिएँ । केही कुरामा चित्त नबुझ्दा दा ममाथि झम्टिनुहुन्थ्यो । कैयौँपटक मलाई पिट्नु पनि भएको छ । तर, मैले उहाँलाई कहिल्यै हात फर्काइनँ ।

दासँग म पार्टीको काममा पटक–पटक हिँडेको छु । ०१८ सालतिर उहाँसँग म पार्टीको काममा कलकत्ता गएको थिएँ । हामीसँग हिन्दुस्तान स्ट्यान्डर्डका पत्रकार कृष्ण शर्मा पनि हुनुहुन्थ्यो । पश्चिम बंगालका तत्कालीन मुख्यमन्त्री विधानचन्द्र रायसँग भेटेर हामीले नेपालको राजनीतिबारे कुरा गर्‍यौँ । त्यतिवेला कलकत्ता र विराटनगरबीच निकट सम्बन्ध थियो ।

महेन्द्रले सान्दाजुलाई जेल हालेपछि कोइराला परिवारमा आर्थिक संकट आइलाग्यो । सहयोग गर्ने साथीभाइ पनि थिए । तर, परिवार ठूलो भएकाले अवस्था कठिन थियो । कोइराला परिवारको भरणपोषणको जिम्मा सुशील दाको काँधमाथि पनि आइलाग्यो । फेरि कार्यकर्तालाई पनि सहयोग गर्नुपथ्र्यो । तर, दाको अवस्था पनि दयनीय थियो । परिवार र कार्यकर्ताको रेखदेखका लागि उहाँले वनारसको एउटा फर्ममा जागिर खानुभयो । उहाँलाई जागिर लगाउन भारतीय समाजवादी नेता जयप्रकाश नारायणले सहयोग गर्नुभएको थियो ।

०००

जवान छँदा बिछट्टै ह्यान्डसम हुनुहुन्थ्यो सुशील दा । अहिलेभन्दा पनि राम्रो हुनुहुन्थ्यो । उहाँको लोभलाग्दो ज्यान र आकर्षक व्यक्तित्व देखेर केटीहरू लोभिने गर्थे ।

एउटी केटी उहाँप्रति अलिक बढी नै आकर्षित थिइन् । उनी दालाई एकतर्फी प्रेम गर्थिन् । पढेलेखेकी, राम्री, भद्र स्वभावकी थिइन् । दासँग बिहेबारी गरेर घरजम गर्ने चाहना थियो, उनको । यसको छनक मैले पनि पाएको थिएँ ।

एकदिन मैले दालाई भनेँ, ‘ती कन्यासँग बिहे गर्दा बेस हुन्छ दा । पढेलेखेकी छिन्, सुशील छिन् । लाइफ राम्रोसँग गुज्रिन्छ, तपाईंको ।’

त्यतिखेर दालाई स्त्रीप्रति आकर्षण नै नभएको होइन । मनले खाएकी स्त्रीलाई मार्क गर्ने, घरजम बसाउने चाहना उहाँमा पनि थियो । तर, उहाँले राजनीतिलाई पहिलो प्राथमिकतामा राख्नुभएको थियो । केही व्यावहारिक कठिनाइले पनि उहाँलाई बिहेबारी गरेर घरजम गर्न दिइरहेको थिएन ।

मेरो प्रस्ताव दाले अस्वीकार गर्नुभयो । भन्नुभयो, ‘म राजनीतिमा लागेको मान्छे, कहिले कहाँ पुग्नुपर्छ, कहिले कहाँ ? बिहे गरेपछि छोराछोरी होलान् । श्रीमती, छोराछोरीको लालनपालन गर्नुपर्ला । यो सब गर्नसक्ने अवस्थामा म छैन ।’ बिहेको प्रसंग उठेपछि जिस्किएझैँ गरी दा मसँग भन्ने गर्नुहुन्थ्यो, ‘फेरि मेरो बिहे राजनीतिसँग भइसकेको छ । दोस्रो बिहे किन गर्ने ?’ दाले बेवास्ता गरेपछि ती युवतीले पछि अर्कैसँग बिहे गरिन् । अहिले उनी अमेरिकातिर सेटल भएकी छिन् ।

बिहे नगरेकोमा दालाई पछुतो लागेको छ जस्तो मलाई लाग्दैन । राजनीति र पार्टी नै उहाँको सर्वस्व हो । राजनीतिमा लागेकाले उहाँ अधिकांश समय परिवारबाट टाढा रहनुभयो । त्यही भएर उहाँमा घरपरिवारप्रतिको आकर्षण कम छ । एक्लै रहने बानी भएकाले होला, हामीलाई पनि त्यति आत्मीय व्यवहार गर्नुहुन्न । भेटघाट हुँदा घरपरिवारको भन्दा पनि राजनीतिको कुरा हुन्छ ।

०००
अहिलेजस्तै किशोर र युवा छँदा पनि दाको त्यस्तो स्पेसल प्रेफरेन्स केही थिएन । खानपिनमा त्यति चुजी हुनुहुन्थेन । दाल, भात, तरकारी, अचार भए पुग्थ्यो । कहिलेकाहीँ मासु खानुहुन्थ्यो । फलफुलप्रति चाहिँ विशेष लगाव थियो । अहिले पनि उहाँ खानपिनमा सन्तोषी हुनुहुन्छ । बिरामी भएकाले खानामा अहिले चिल्लो, पिरो, मसला कम गरिएको छ ।

फिल्म हेर्नमा चाहिँ दा विशेष चाख राख्नुहुन्थ्यो । राजकपुर, दिलीपकुमार, देवआनन्दका हिन्दी फिल्म खुब हेर्नुहुन्थ्यो । त्यतिवेला उहाँमा हिरो बन्ने रहर प्रबल थियो । अभिनय गर्ने अवसर खोज्नु पनि भएको थियो । यद्यपि, फिल्मी क्षेत्रमै करिअर बनाउँछु भन्नेमा डिटरमाइन्ड हुनुहुन्थेन ।

फिल्मी क्षेत्रमा छिर्न सकिन्छ कि भनेर बुझ्न दा एकपटक मुम्बई पुग्नुभएको थियो । मुम्बईमा केही फिल्म छायांकन भएको हेर्नुभयो । खै के सोचेर हो, त्यसपछि उहाँ फर्किनुभयो ।

संगीतप्रति खासै रुचि नभए पनि कहिलेकाहीँ गीत गुनगुनाउने गर्नुहुन्थ्यो । कविता लेखनमा चाहिँ उहाँको रुचि थियो । केही कविता लेख्नु पनि भएको छ, दाले । ती कविता अहिले कहाँ पुगे, थाहा छैन । लेख लेख्न पनि चाख राख्नुहुन्थ्यो । प्राय: अंग्रेजीमा लेख्नुहुन्थ्यो । हिन्दुस्तान टाइम्सलगायत भारतका केही अंग्रेजी अखबारमा उहाँले छद्म नाममा केही लेख लेख्नुभएको थियो ।

०००

पहिले–पहिले दाको बोली एकदमै प्रस्ट थियो । भाषण राम्रो गर्नुहुन्थ्यो । सान्दाजुको साथ लागेर ०३६ सालमा उहाँ नेपाल भ्रमणमा निस्किनुभएको थियो । सान्दाजुसँगै उहाँले विभिन्न ठाउँमा कार्यकर्तालाई सम्बोधन गर्नुभयो । उहाँको भाषणले प्राय: सबै ठाउँमा तालीको गड्गडाहट पाउने गथ्र्यो ।

सन् २००५ मा जिब्रो सर्जरी गरेपछि उहाँ तोते हुनुभयो । क्यान्सर पत्ता लागेपछि जिब्रोको सर्जरी गरिएको थियो ।

दाको पहिले कुनै थेगो थिएन । ‘उ गर्छु’, ‘उ भयो’, ‘उ गरेँ’ भन्नेखालको थेगो पछि बसेको हो । कहिलेकाहीँ हामी जिस्किँदै उहाँसँग भन्ने गर्छौं, ‘दा, खाली ‘उ गर्छु’ भन्नुहुन्छ । ‘उ’ भनेको के हो ?’ हास्दै उहाँ भन्ने गर्नुहुन्छ, ‘मेरो बानी हो ।’

निकै पहिले मेरो पनि थेगो थियो । वाक्यैपिच्छे ‘साला’ भन्ने गर्थें । एकपटक कलकत्ताको अशोका होटेलमा बस्न पुगेँ । लन्ड्रिम्यानले कपडा धोएर ल्यायो । हेरेको, दाग गएकै रहेनछ । ‘साला कैसे धोते हो कपडा, दाग अभि भी हें’ भनेँ । मैले साला भन्दा उसलाई रिस उठेछ । गएर म्यानेजरसँग ‘मलाई बाउले पनि त्यसरी गाली गरेको थिएन, त्यो मान्छेले त्यस्तो गाली गर्‍यो । त्यसलाई म छोड्दिनँ’ भनेछ । मलाई ‘पर्खी’ भन्ने पारामा चोर औंला देखाउँदै गयो । मेनेजरले यो सब बताएपछि उसलाई बोलाउन लगाएँ र भनेँ, ‘यो मेरो थेगो हो । तिमीलाई चित्त दुखेछ । तिम्रै लागि मैले अबदेखि यो थेगो त्यागिदिने भएँ ।’ पछि त्यो मानिस मसँग ज्यादै घनिष्ट बन्यो । साला भन्ने बानी त्यही दिनदेखि हट्यो ।

०००

दा आफ्नै खालको हुनुहुन्छ । चित्त नबुझेको कुरा कसैले गर्‍यो भने झनक्क रिसाउनुहुन्छ । उहाँको अगाडि अरूको कुरा काट्नु हुँदैन । ‘समय लिएर मसँग भेट्न आउनुभएको छ । अर्काको कुरा किन गर्नुहुन्छ ? आफ्नो कुरा गर्नुस् न,’ अरूको कुरा काट्न खोज्नेलाई रिसाएझैँ गरी उहाँ भन्नुहुन्छ । ज्यादै पंगचुअल हुनुहुन्छ दा । भनेको टाइममा कोही आइपुगेन भने पर्खिने बानी छैन ।

दासँग मेरो भेटघाट, कुराकानी भइरहन्छ । भेटघाटका क्रममा प्राय: सधैं राजनीतिकै कुरा हुन्छन् । उहाँलाई म क्याबिनेटलाई राम्रोसँग इन्स्ट्रक्ट गर्नुपर्‍यो, कार्यकर्तालाई हेर्नुपर्‍यो भन्ने गर्छु ।

कसैको सिफारिस सुन्ने बानी उहाँसँग छैन । मैले भनेको दाले मान्नुहुन्छ भन्ठानेर ‘एकपटक पिएमलाई भनिदिनुपर्‍यो’ भन्दै धेरै मानिस मकहाँ आउने गर्छन् । अलि गम्भीर खालका कुरा उहाँसम्म एकाधपटक पुर्‍याएको पनि छु । तर, दाले कहिल्यै मैले सिफारिस गरेको काम गरिदिनुभएन ।

प्रस्तुति : सुजित मैनाली/नयाँ पत्रिका

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us