पुष्पलालले भन्नुभयो तिमीलाई मैल दु:ख मात्र दिएँ

काठमाण्डु टुडे २०७१ असोज ९ गते ५:०१ मा प्रकाशित

छोरीको विवाह सकेर हामी काठमाडौं आयौँ । छोरी आफ्नै घरमा, छोरा बाहिर । म एक्लै धुम्धुम्ती रित्तो घरमा बस्न थालेँ । मलाई साह्रै रिक्तता महसुस भयो । फेरि ट्युसन गर्न मन लागेन । त्यसपछि मैले केही गर्नुपर्छ भन्ने लाग्यो । पुष्पलालजीले पनि चिठी लेख्दै हुनुहुन्थ्यो । अब छोरीको पनि विवाह भइसक्यो । छोरा पनि बाहिर–बाहिर गइरहन्छ । म एक्लै घरमा बसेर के गर्नु । पुष्पलालजीको एक प्रकारको दबाबजस्तै थियो, म बनारसतिरै लागौँ भन्ने । मसँग दुईवटा विकल्प मात्रै थिए, पढाइ अगाडि बढाउने वा पार्टीमा सक्रिय भएर काम गर्ने । मैले सक्रिय राजनीतिक जीवन बिताउनुभन्दा पहिले पढ्ने धोको पूरा गर्ने विचार गरेँ । छोरासँग सल्लाह गरेँ, उसले ‘हुन्छ’ पढ्न जानुहोस् ममी, म तपाईंलाई भेट्न उहीँ आउँला, भन्यो । भर्खर विवाह गरेकी छोरीलाई यहाँ आमा नभएपछि उसको जाने ठाउँ हुँदैन । त्यो पनि पिर थियो । छोरीलाई माइतमा जान पाइएन भने खल्लो हुने । जेहोस्, एक–दुई महिना जाऊँ, कस्तो किसिमको व्यवस्था हुन्छ, हेरौँ भन्ने लाग्यो । ०३५ साल वैशाखमा आमाको मुख हेर्ने ६–७ दिनमात्र बाँकी थियो, तर त्यो आमाको मुख हेर्ने दिनलाई समेत नहेरी म बनारस गएँ ।

म बनारस पुगेपछि पुष्पलालजीले विभिन्न ठाउँमा डुल्न जाने योजना बनाउनुभएको रहेछ । त्यस वेलामा आसाम, गुहाटी, लखनउ, दिल्ली आदि ठाउँमा पार्टीका कमरेडहरूलाई भेट्ने काम गरियो । पुष्पलालजीसँग विवाहपछि सँगै त्यसरी घुमेको पहिलोपटक थियो, त्यो । त्यसवेला उहाँसँग बस्दा राम्रै महसुस गरेँ । म छोराछोरीको बोझ र बन्धनबाट मुक्त भइसकेको उन्मुक्त वातावरणमा छुजस्तो  लाग्यो । अब म केही पढ्न सक्छु, पढाइमा मन लगाउन सक्छु भन्ने भावना आयो । म वैशाख र जेठ महिना कतै आर्थिक सहयोगदाता, पढाइको खर्च बेहोरिदिने संस्था वा व्यक्तिको खोजी गर्नतिर लागेँ । बनारस हिन्दु विश्वविद्यालय काशी विद्यापीठबाट मैले विद्यावारिधि गर्ने तय भयो । अध्ययनका लागि महिनावारी तीन हजार रुपैयाँ दिने भन्ने कुरा भयो । म तुरुन्त काठमाडौं आइनँ । त्यहीँ ढुक्कै बसेर पढ्ने छोराछोरीको सल्लाह पनि आयो । मैले पढ्ने एकैतिरको मन बनाएर बसेँ र अध्ययनको काम सुरु गरेँ ।

जेठको अन्तिमतिर पुष्पलालजी अलिक अस्वस्थ भएको जस्तो देखेँ । उहाँमा अलिक स्वाँ–स्वाँ बढेको जस्तो लाग्यो । मलाई कोठामा एक्लै छोडेर उहाँ बाहिर जाने काम रोकिएको थिएन । हामी दिल्लीको बिट्टल वाई पटेल हाउसमा बसेका थियौँ । त्यो सांसदहरू बस्ने क्वार्टर हो । त्यो दार्जिलिङका सांसद आनन्द पाठकको थियो । पुष्पलालजी साथी हुनुभएकाले त्यो क्वार्टर हामीलाई दिइएको थियो । त्यहाँ पनि एक्लै बस्नुपर्लाजस्तो लाग्यो । पुष्पलालजी असार अन्तिमतिर दरभंगामा मिटिङ छ भनेर जान ठीक पर्नुभयो ।

sahana

उहाँ खुट्टा खोच्याएर हिँडेजस्तो लाग्दै थियो । मैले ‘यस्तो अवस्थामा नगए पनि हुन्छ । अस्वस्थ छु, भनेर खबर पठाइदिऊँ,’ भनेँ । उहाँ मान्नुभएन, जानु नै पर्छ भनेर कोठाबाट निस्कनुभयो । उहाँका साथमा दुईजना कमरेडहरू पनि हुनुहुन्थ्यो । उहाँहरूले समाउँदै लिएर जानुभयो । त्यस्तो बिरामी अवस्थामा जानुभएकाले मलाई नरमाइलो लाग्यो । मैले त्यस्तो अस्वस्थ अवस्थामा हिँडेको देखेकी थिइनँ ।  उहाँ आफ्नो काम भनेर स्वास्थ्यको पनि ख्याल नगरी जानुभएकाले मेरो मनमा स्वास्थ्य ठूलो कि काम भन्ने लाग्यो । उहाँ जानुभएको एक हप्तासम्म केही खबर आएन । मलाई मनमा पिर लागिरहेको  थियो । एक्कासि ‘स्वास्थ्य खराब भएकाले पुष्पलालजी दरभंगा अस्पतालमा हुनुहुन्छ’ भन्ने खबर आयो । मेरो मनमा जस्तो चिसो पसेको थियो, त्यस्तै हुन गयो । ‘तपाईंले चिन्ता नगर्नुहोस् हामी तीन–चार दिनमा आइपुग्छौँ’ भनेर कमरेडहरूले खबर पठाउनुभयो । मैले त्यो खबर पाएको पाँचौँ दिनमा उहाँ आइपुग्नुभयो ।

उहाँ आउँदा दुईतिर दुईजना मान्छेले समातेर कोठाभित्र हुल्दा त म झसंग भएँ । निक्कै साह्रो बिरामी हुनुभएको रहेछ । मुख पनि कस्तो–कस्तो भइसकेको थियो । त्यहाँ एकदिन बसेर राममनोहर लोहिया अस्पतालमा कमरेडहरूले भर्ना गर्नुभयो । त्यो अस्पताल मुटुको होइन रहेछ । त्यहाँ तीन दिनसम्म राखियो । बीसको उन्नाइस पनि नभएपछि मुटुसम्बन्धी ‘गोविन्दवल्लभ पटेल’ अस्पतालमा लगियो । त्यहाँ लगेर उपचार गरेपछि अनुहार फेरियो । उहाँ कुराकानी गर्न सक्ने हुनुभयो । हामीसँग क्याबिनमा राख्ने औकात थिएन । पार्टीको स्थिति पनि राम्रो थिएन । त्यसले गर्दा साधारण ओच्छ्यानमा नै राख्ने काम गरियो । यो कुरा मैले सिपिएमका नेताहरूलाई पनि भनेँ । तर, त्यति ध्यान दिइएन । जेनेरल वार्डमा नै बीस दिनजति बस्यौँ । म दिनहुँ बिहान सबेरै अस्पताल जान्थेँ । र, राति सात बजे फर्कन्थेँ । राति महिलाहरूलाई कुरुवा बस्न दिइँदैन थियो । त्यसैले राति पुरुष कमरेडहरूले रुङ्नु हुन्थ्यो । बिरामीलाई अस्पताल छोडेर क्वार्टरमा के खाने र ? म नखाई सुत्थेँ । कहिलेकाहीँ बाहिरबाट नै केही खानेकुरा किनेर ल्याउँथे र खान्थेँ ।

पुष्पलालजी बिरामी भएका वेला हेर्नलाई धेरै मानिसहरू आए । नेपाली कांग्रेसका मानिसहरू पनि आए । भारतीय नेताहरू पनि आए । भारतीय नेता चन्द्रशेखर पनि हेर्न आए । चन्द्रशेखरले ‘उहाँ हाम्रो साथी हो’ भनेपछि पुष्पलालजीलाई क्याबिनमा राखियो । अहिले पनि पुष्पलालजीका बारेमा कुरा गर्दा उनी हामीले भनेर क्याबिनमा राख्न लगायौँ भन्दछन् । क्याबिनमा राख्यौँ, तर उहाँको अवस्था नजुक भइसकेको थियो । कुराकानी भने राम्ररी नै गर्नुहुन्थ्यो । मैले एउटा लक्षण के देखेँ भने, खानामा जे पनि खाने, कहिल्यै नाक नखुम्च्याउने मान्छे, बिरामी भएपछि खाँदै नखाने हुनुभयो ।

खाना देख्नेबित्तिकै हातले पन्छाउने गर्नुहुन्थ्यो । ‘धेरै खाने वा खाना रुचाउने मान्छेले खाना पन्छायो भने राम्रो लक्षण होइन । खाना नाकनिक गर्ने मान्छेले धेरै खायो, जे पनि खायो भने राम्रो लक्षण होइन भन्ने सुनेकी थिएँ ।’ त्यसले उहाँको बानीमा त्यस्तो परिवर्तन आएपछि मनमा चिसो पसेको थियो । ‘मलाई नखाने–नखाने भन्ने, तर अब तपाईं आफैँ नखाने ?’ भनेँ पनि । खानामा उसिनेको लौकाको टुक्रा र जाउलो खानुहुन्थ्यो । कहिले लौकाको टुक्रा नदेख्दा आँखामा आँसु नै जमाएर खोज्ने गर्नुहुन्थ्यो । क्याबिनमा बसेको एक हप्तापछि ‘भोलि तिम्रो जन्मदिन होइन’ भनेर सोध्नुभयो । मैले ‘हो’ भनेँ । ‘तिम्रो जन्मदिन मनाऔँ है यहाँ’ भन्नुभयो ।

‘अस्पतालमा बसेर के जन्मदिन मनाउने ? पर्दैन,’ भनेँ मैले ।  भोलिपल्ट बिहानै अस्पताल आइपुगेँ । म आइपुग्दासाथ, सहाना ह्याप्पी बर्थ डे, भन्नुुभयो । मैले ‘थ्याङ्क यु’ भनेँ । हाम्रो त्यस्तै चल्थ्यो । कमरेडहरू बसिरहनुभएको थियो । उहाँहरूलाई पुष्पलालजीले आज भाउजूको बर्थ डे हो भन्नुभयो । कमरेडहरूले मुख मीठो गर्ने व्यवस्था गर्नुभयो । मेरो जन्मदिन शुक्लपक्ष तृतीयामा पर्छ । त्यो वर्ष असार ३१ गते मंगलबार परेको थियो ।

त्यसको एक हप्तापछि सोमबारकै दिन उहाँलाई खुब छटपट भयो । बेलुकीपख ह्विलचेयरमा राखेर उहाँलाई आइसियूमा लगियो । राति त्यहाँ बस्न नपाइने भएको हुनाले फेरि कोठामा आएँ र बिहानको प्रतीक्षामा रात बिताएँ । बिहान सबेरै अस्पताल पुगेँ । आइसियूमा बेला–बेलामा मात्र हामीलाई पस्न दिइन्थ्यो । म उहाँलाई भेट्न गएँ । के हो यो ? मलाई राम्रो बताउँदा पनि बताउँदैनन् भन्दै हाम्रो एकजना कम्पाउन्डर कमरेडलाई सोधेँ । उहाँले पनि ‘ठीक छ भाउजू, चिन्ता नलिनुहोस्,’ भन्नुभयो । उहाँले खुलेर केही पनि भन्नुभएन । मलाई ठीक छैन भन्न मन नलागेर होला भनी चित्त बुझाएर बसेँ ।

आइसियूमा लगेको भोलिपल्ट म सात बजे अस्पताल पुगेँ । उहाँलाई भेट्न हतार–हतार उहाँ सुतेको बेडनिर पुगेँ । मैले उहाँको आँखा रसाएको देखेँ । उहाँको छाती श्वास फेर्दा स्वाँ–स्वाँ गरेर माथि–माथि उठिरहेको थियो । हातखुट्टाहरू चलाउनुहुन्छ भनेर खाटमा बाँधिएको थियो । त्यसरी हातखुट्टा बाँधेर सुताएको देखेर मलाई साह्रै नमिठो लाग्यो । मलाई देख्नुभएपछि बाँधेको हात फुस्काएर अक्सिजनको माक्स झिक्नुभयो र मसँग बोल्न खोज्नुभयो । मैले के गर्नुभएको यस्तो भनेर माक्स लगाइदिएँ । फेरि मैले लगाइदिएँ । यसरी दुई–तीनपटक झिक्ने र लगाइदिने काम भयो ।

त्यसैवेला डाक्टर आइपुगे । डाक्टरले मलाई ‘प्लिज तपाईं एकछिन बाहिर गइदिनुहोस्’ भने ।  म नचाहँदा–नचाहँदै बाहिर निस्किएँ । बाहिर आमाज्यू बसिराख्नुभएको थियो । उहाँले ‘कस्तो छ भाइलाई ?’ भनेर सोध्नुभयो । आमाज्यू पनि त्यसवेला बिरामी नै हुनुहुन्थ्यो । उहाँ भाइका बारेमा साह्रै चिन्तित भइसक्नुभएको थियो । खाना खान छोडिसक्नुभएको थियो । मैले उहाँलाई ‘ठिकै छ,’ भनी सामान्य उत्तर दिएँ । भित्र गएर भाइलाई हेर्ने आमाज्यूको साहस पनि थिएन । दिदीको स्वास्थ्य कमजोर भएकाले हामीले भित्र लाने आँट पनि गरेनौँ ।

आइसियूमा पुष्पलालजीलाई लगेपछि थपक्क छेउमा बसिरहन त पाइएन । हामी एक–दुई घन्टापछि गएर यसो हेर्ने काम मात्र भयो । म आइसियूमा पस्दा नर्सहरूले गाली गर्छन् भनेर झ्यालबाट चियाउँथेँ । पुष्पलालजीलाई अक्सिजनमा राखेको छ । उहाँ हा….. हा…. गरिरहनुभएको छ । श्वास बढेको छ । अनुहार फुंग उडेको छ । के हुने हो, मनमा ठूलो पिर परेको थियो । परिवारजनहरू पुष्पलालजीलाई हेर्दै जाँदै थिए । मेरी आमाज्यू, आमाज्यूदाज्यू, छोरी र भान्जा दुई–तीन दिनअघि आउनुभएको थियो । छोरा, ज्वाइँ काममा फर्किसकेका थिए ।  उहाँ सिकिस्त हुनुहुन्छ भन्ने कुरा हरेकले आ–आफ्नै ढंगले बुझ्यौँ । कसैले कसैसँग आफ्नो अभिव्यक्ति गर्ने आँट थिएन । पुष्पलालजीलाई पनि ‘अन्तिम अवस्थामा छु’ भन्ने लागेको थियो ।

एकछिनपछि भान्जा र मैले भित्र जाने प्रयत्न गर्‍यौँ । मलाई मात्र भित्र जान दिइयो । मलाई देख्नासाथ उहाँले अक्सिजनको माक्स झिक्नुभयो । मलाई हेर्दै स्वाँ स्वाँ….. को आवाजसाथ उहाँले भन्नुभयो, ‘सहाना…ति..मीलाई ….मैले दु:ख मात्र दिएँ, ति…म्रो… निमित्त केही गर्न…. सकिनँ । अब…. अगाडिका कामहरू पक्कै पनि….तिमीले गछ्र्यौ होला ।’ श्वास धेरै बढ्यो, मैले हतार–हतार अक्सिजन माक्स लगाइदिएँ ।

मलाई साह्रै नमिठो लाग्यो । रुन मन लाग्यो । रोउँ–रोऊँ खालको वातावरण बन्यो । म कोठामा बस्नै सकिनँ र बाहिर निस्किएँ । त्यतिवेला घडीले बिहानको नौ हान्यो । बाहिर आमाज्यू बस्नुभएको थियो । उहाँले सोध्नुभयो, ‘कस्तो छ सहाना ?’ मैले फेरि ‘ठीकै छ,’ भनेँ ।

म बाहिर निस्कनासाथ भान्जा पस्नुभएको थियो । भान्जाले पनि अब मामा रहनुहुन्न भन्ने अनुभूति गर्नुभएको रहेछ । मलाई पनि अब उहाँ रहनुहुन्न भन्ने लागिसकेको थियो । छोरी सानो मुख लगाएर टुक्रुक्क बसेकी थिइन् । छोराको केही खबर छैन । चार–पाँच दिनअघि छोराले राम्रै अवस्थामा छोडेर गएको थियो ।

म १० बजे फेरि भित्र पसेँ । फेरि अक्सिजन झिक्ने कोसिस गर्नुभयो । मैले समाएर अक्सिजन झिक्न दिइनँ र फेरि भन्नुभयो, ‘सहाना… अब … गर्नु….है ।’ त्यसवेला सायद पार्टीको काम गर्नु भन्नुभएको होला । पूरा वाक्य भन्न पाउनुभएन । त्यसवेला नै कमरेडहरू अरविन्द खड्का, तिलक पराजुली, रामबहादुर भण्डारी र अरू को–को आइपुग्नुभयो । उहाँहरूसँग पुष्पलालजीले ‘जनतालाई चेतनाशील बनाउनुपर्छ । यो देशमा जनता चेतनशील बनाए क्रान्ति अवश्य हुन्छ । परिवर्तन अवश्य हुन्छ । हिम्मत नहार्नु, अगाडि बढ्नु,’ भन्नुभयो । मैले माक्स खोल्न दिइनँ । त्यसैले मसँग धेरै कुरा गर्न पाउनुभएन । कमरेडहरूले अब भइहाल्यो, अन्तिम अवस्था भइसक्यो । उहाँको के भनाइ छ, भनेर माक्स खोलेर बोल्न दिनुभएको रहेछ ।

मलाई उहाँले माक्स खोलेर बोल्दा सास्ती भएको देखेर माक्स राख्नुपर्छ, बोल्न दिनुहुँदैन भन्ने मात्र लाग्यो । उहाँले बडो कष्टदायी तरिकाबाट बोलेको हेर्न चाहिनँ । मेरी आमाज्यूलाई भाइ त्यति अशक्त छ भन्ने कुरा थाहा नै भएन ।

त्यहीवेला गिरिजाप्रसादसँग चार–पाँचजना कांग्रेसका साथीहरू उहाँलाई हेर्न आएका थिए । उहाँको जाने वेला भएको रहेछ । गिरिजाप्रसादले मलाई यसो हेरेर जानुभयो । उनीहरू जानेबित्तिकै म र भान्जा भित्र पस्यौँ । डाक्टरले ‘उहाँ बितिसक्नुभयो ।’ (हि इज नो मोर) भन्यो । उहाँको मुख छोपिसकेको रहेछ । मैले आफूलाई थाम्नै सकिनँ । म त्यहीँ लड्न पुगेंछु । भान्जाले मलाई सम्हालेछन् । अब सबै कुरा सिद्धियो । मेरो जीवनमा ०३५ साल श्रावण ७ गते १० बजे बिहान यो बज्रपात आइपर्‍यो ।

(सहानाको जीवनी समेटिएको पुस्तक सहाना प्रधान स्मृतिका आँखीझ्यालबाट साभार)

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us