राजधानी छाड्न ४ दिनमै ५ लाखले काटे टिकट

काठमाण्डु टुडे २०७१ असोज ९ गते ३:२१ मा प्रकाशित

काठमाण्डु, ९ असोज– दसैं मनाउन २० लाखभन्दा बढी सर्वसाधारण काठमाण्डु उपत्यकाबाट बाहिरिने भएका छन् । सार्वजनिक सवारी साधनको टिकट बिक्रीको आधारमा सो तथ्याङ्क आएको हो ।
अहिलेसम्म करिब १२ लाख सर्वसाधारण उपत्यकाबाट बाहिर गइसकेको विवरण प्राप्त भएको यातायात व्यवस्था विभागका महानिर्देशक काशीराज दाहालले जानकारी दिए ।

यस्तै, करिब ५ लाखले टिकट बुकिङ गरेको र अरनिको यातायातमा टिकट काट्नेको विवरण प्राप्त नभएको एवम् निजी तथा साना गाडीबाट जाने यात्रुको समेत संख्या जोड्दा २० लाखभन्दा बढी हुने दाहालले बताए ।

त्यस्तै टिकट बुकिङ खुल्ला हुनुअघि नै टिकट बिक्री गर्ने १२ बस व्यवसायीमाथि विभागले कारबाही गरेको छ । यात्रुसँग तोकिएभन्दा बढी भाडा लिने र टिकट काट्दा पनि सिट नदिई टुल भनेर लेख्ने व्यासायीमाथि पनि कारबाही हुने भएको छ ।

सवारी साधनको सिट क्षमताभन्दा बढी यात्रु बोक्न नपाइने भएकाले कसैमा यस्तो समस्या आए सहायता कक्षमा उजुरी गर्न विभागले आग्रहसमेत गरेको छ ।

‘कसैले टिकट काट्दा टुलको टिकट पाउनुभएको छ वा तोकिएभन्दा बढी शुल्क तिर्नुभएको छ भने यात्रु सहायता कक्षमा टिकट नम्बर वा टिकटको फोटोकपी दिनूस्, त्यस्ता व्यवसायीमाथि हामी कारबाही गछौं,’ विभागका निर्देशक वसन्त अधिकारीले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us