सरकारको लाचारीले अधिकारीको ज्यान गएको मानवअधिकारकर्मीको आरोप

काठमाण्डु टुडे २०७१ असोज ८ गते १०:४३ मा प्रकाशित

काठमाण्डु, ८ असोज – मानव अधिकारकर्मीहरुले छोराको हत्यारामाथी कारवाहीको माग राखी आमरण अनसनमा बसेका अधिकारी दम्पतीको सरकारले उचित सम्वोधन गर्न नसकेका कारण नन्दप्रसाद अधिकारीको मृत्य भएको आरोेप लगाएका छन् ।

hrबुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै मानअधिकारकर्मीहरुले न्यायको माग गरिरहेका निर्दोष नागरीकको मृत्यु भएको भन्दै यसको जिम्मेवारी सरकारले लिनुपर्ने धारणा राखेका छन् । कार्यक्रममा बोल्दै जवाफदेहिता निगरानी समितिका अध्यक्ष सुशिल प्याकुरेलले सरकारले अधिकारीको निधनवारे जारी गरेको प्रेस विज्ञप्ती लज्जास्पद भएको बताउँदै गंगामायाको जीवन रक्षा गर्न आवश्यक पहल गर्नुपर्ने समेत बताएका छन् ।

प्याकुरेलले भने–‘‘पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले फुजेल प्रकरण नउचाल्न भन्दै सके आँफैलाई जेल हाल भनेर दिएको चुनौतीका कारण आज अधिकारीले ज्यान गुमाउनुप¥यो, यो न्याय माथिको बलात्कार हो । बाबुरामको अभिव्यक्ति राजनीतिको नाममा कंलक ठहरेको छ ।’’

उनले सरकारले चाहेको भए अधिकारी दम्पतिलाई न्याय दिलाउन सक्थ्यो भन्दै सरकारले केही कदम नचालेको कारण आफूले प्रधानमन्त्री सुशिल कोइराला अमेरिका गएको वेला उनलाई दवाव दिन सकियोस भनेर संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनलाई विशेष पत्राचार समेत गरेको स्पष्ट पारेका छन् ।

त्यसैगरी अर्का मानवअकिारकर्मी कनकमणी दिक्षितलले मानव अधिकारको बारेमा अरुलाई शिक्षा दिने पश्चिमा मूलुकहरु अधिकारी दम्पत्तिको बारेमा भने मौन बसेको भन्दै पश्चिमाहरुको लागि मानवअधिकार पनि तुलनात्मक विषय बनेको आरोप लगाएकाछन् । दिक्षितले ८ वर्षको निरन्तर न्यायको खोजीपछि सबैको चासोको विषय बनेको अधिकारी प्रकरणमा नन्द प्रसाद अधिकारीले कहिल्यै पनि आफ्नो अडान नछाडेको जानकारी दिँदै प्रचण्ड र बाबुरामको कारण अधिकारीको निधन भएको आरोप लगाएका छन् । उनले भने–‘‘बास्तवमा नन्द प्रसाद अधिकारी उहाँ एउटा अद्भुत नेपाली नागरिक हो, जसले आफ्नो छोराका लागि जीवन नै आहुती गरेका छन् ।’’
दिक्षितले सरकारले अधिकारी दम्पतिको विषयमा खुट्टा कमाएको कारण दम्पतीले न्याय नपाएको समेत आक्रोश पोखेका छन् ।

त्यस्तै अर्का मानवअधिकारकर्मी एवम् अधिवक्ता डा. दिनेश त्रिपाठीले आफूहरुले नन्द प्रसाद अधिकारीलाई बचाउने अथक प्रयाश गरेपनि सरकारले आफूहरुलाई साथ नदिएको कारण उहाँको निधन भएको प्रष्ट पारेका छन् । त्रिपाठीले भने–‘‘यस्तो क्षण पनि आउँछ कि कहिलेकाही मौन बस्दा पनि अपराध हुन्छ । त्यसैले तपाई हामी सवैले आ–आफ्नो ठाउँबाट किन नबोल्ने ?’’

उनले जुन दिन नन्द प्रसाद अधिकारीको निधन भयो त्यहि दिन नै न्यायिक प्रक्रियाको पनि च्याप्टर क्लोज भएका धारणा राखेका छन् । साथै त्रिपाठीले नन्द प्रसाद अधिकारीको निधन सँगै नेपालमा विधिको शासन पनि समाप्त भएको गुनासो गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us