काठमाण्डु, ८ असोज – सूचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले नेपालमा आमसञ्चार तथा पत्रकारिताको लागि छुट्टै विश्वविद्यालय बनाउन सरकारले पहल गर्ने विश्वास व्यक्त गरेका छन् ।
बुधबार रिपोर्टर्स क्लब नेपाल र कलेज अफ जर्नालिज्म एण्ड मास कम्यूनिकेशनद्धारा संयूक्त रुपमा आयोजित नेपालमा किन छुट्टै सञ्चार विश्वविद्यालय चाहिन्छ भन्ने विषयक विशेष साक्षात्कार कार्यक्रममा मन्त्री रिजालले सञ्चार जगतलाई प्रतिस्पर्धी तथा गुणस्तरीय बनाउनका लागि पनि नेपालमा छुट्टै सञ्चार विश्वविद्यालयको आवश्यकता रहेको औल्याउँदै त्यसका लागि आवश्यक भौतिक तथा प्राज्ञिक पूर्वाधार बनाउनुपर्ने धारणा राखेका छन् ।
मन्त्री रिजालले भने–‘‘विश्वविद्यालय निर्माण प्रक्रियाको लागि अहिले विश्वविद्यालय ऐन संसदमा पठाईएको छ, संसदबाट ऐन पाश भएलगत्तै यसको दर्ता प्रक्रिया शुरु हुन्छ ।’’ आफू सञ्चारमन्त्री भएको नाताले नेपालमा पनि अन्र्तराष्ट्रिय मापदण्ड बोकेका सञ्चारजगतहरुको स्थापना होस भन्ने पक्षमा रहेको बताउँदै मन्त्री रिजालले विश्वमा प्रतिस्पर्धा गर्न लायकको सञ्चार जगतको स्थापना हुुनुपर्ने पक्षमा रहेको प्रष्ट पारेका छन् । उनले शिक्षा मन्त्रालयले उच्च शिक्षा नीति तयार पारिरहेको प्रष्ट पार्दै क्षेत्रिय अवधारणा तथा विशिष्टिकृत अवधारणा अनुसार नै विश्वविद्यालय खोलिनुपर्ने बताएका छन् ।
रिजालले नेपालमा छुट्टै सञ्चार विश्वविद्यालय भए पत्रकारिता प्रभावकारी एवम गुणस्तरीय हुने पनि विश्वास व्यक्त गरेका छन् । उनले सञ्चार विश्वविद्यालयको माग राखेकी आमसञ्चार तथा पत्रकारितामा सक्रिय भूमिका निर्वाह गरेकोमा डा. मन्जु मिश्रको प्रशंसा समेत गरेका छन् ।
शिक्षा मन्त्रालयका सह–सचिव डिल्ली रिमालले मन्त्रालयले उच्च शिक्षा नीति तर्जुमा गरिरहेको जानकारी दिँदै नीति तथा प्रावधानलाई आत्मासाथ गरेर आउने कलेजहरुले स्विकृति पाउने प्रस्ट पारेका छन् । रिमालले विश्वविद्यालय अनुदान आयोगले चयन गरेका उत्कृष्ट कलेजहरुले नै विश्वविद्यालयको स्विकृति पाउने पनि जानकारी दिएका छन् । उनले भने–‘‘विश्वविद्यालय नखुलोस भन्ने पक्षमा हामी छैनौं, तर विश्वविद्यालय खोल्नका लागि चाहिने पुर्वाधार पुरा गरेर आउनुपर्छ ।’’ रिमालका अनुसार हाल शिक्षा मन्त्रालयमा छुट्टै विश्वविद्यालय दर्ताका लागि २० वटा निवेदन परेको छ ।
त्यस्तै कलेज अफ जर्नालिज्म एण्ड मास कम्यूनिकेशनकी संस्थापक अध्यक्ष एवम प्रिन्सिपल डा. मन्जु मिश्रले नेपालको आमसञ्चार तथा पत्रकारिता क्षेत्रमा गुणस्तरीय कायम गर्नका लागि पनि आफ्नो कलेजले नेपालमा छुट्टै सञ्चार विश्वविद्यालय बनाउनुपर्ने माग राखेको प्रष्ट पारेकीछिन् । मिश्रले नेपालमा पत्रकारिताको शिक्षा प्रणाली नै पूरानो भएको तर्क गर्दै समय सुहाउँदो र व्यवहारिक शिक्षा दिनको लागि पनि छुट्टै सञ्चार विश्वविद्यालय बनाउनुपर्ने धारणा राखेकीछिन् । उनले आफूले कम्यूनिकेशन यूनिभर्सिटि अफ नेपाल अर्थात सियू नेपाल बनाउनुपर्ने धारणा राखेकी हुन् ।
मिश्रले संसदमा प्रस्तुत भएको छाता ऐन पारित भए २० वटा विश्विद्यालयमध्ये आफू महिला भएर चलाएको कलेजले पनि स्विकृति पाउनेमा आफू विश्वस्त रहेको स्पष्ट पारेकीछिन् । उनले भनिन्–‘‘हामी समावेशिताको कुरा गछौं, तर एउटा महिलाले खोलेको कलेजलाई विश्वविद्यलायको स्विकृति दिन किन हिच्किचाउछौं, यहाँ मलाई दुःख लाग्छ ।’’ उनले संसदमा समेत यस विषयमा कुरा उठाउन अपिल गरेकीछिन् । नेपालमा प्राईभेट विश्वविद्यालयलाई पनि मान्यता दिनुपर्ने उनको दाबी रहेको छ ।