परपुरुषसितको अनैतिक सम्बन्ध लुकाउन पतिको हत्या

काठमाण्डु टुडे २०७१ असोज ८ गते ३:२० मा प्रकाशित

विराटनगर, ८ असोज– परपुरुषसितको अनैतिक सम्बन्ध लुकाउन एक महिलाले आफनै श्रीमानको हत्या गराएको खुलेको छ ।
सुनसरीको हरिपुर–८ भान्टावारी घर भएका चौपाया व्यापारी मस्तकिम मियाँको हत्या आफ्नै जेठी श्रीमतीको योजनामा भएको खुलेको हो । गत साउन २३ गते सप्तरीको भारदह–१ कोसी ब्यारेजदेखि पश्चिम केराको बगानमा हत्या गरिएको अवस्थामा मस्तकिमको शव फेला परेको थियो ।

सप्तरीको तोपास्थित पशु हटियामा चौपाया किन्न हिडेका मस्तकिमलाई बाटोमै हत्या गरिएको थियो । मस्तकिम हटिया पनि नपुगेको र घर पनि नफर्केपछि खोजी गर्दै जाँदा ब्यारेज पश्चिम केरा बगानको उनको शव फेला परेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका निरीक्षक दिपक कार्कीले बताए ।

घटनाको अनुसन्धानमा जुटेको प्रहरीले मस्तकिमका दुईटी श्रीमतीलाई नियन्त्रणमा लिएको थियो । पछि कान्छी श्रीमतीलाई प्रहरी रिहा गरी जेठी सबरुल खातुनलाई नियन्त्रणमा राखेको छ ।

क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका अनुसार मस्तकिमकी जेठी श्रीमती सबरुलकै योजनामा उनको हत्या भएको अनुसन्धानबाट खुलेको छ । स्थानीय मतावुल मियासित सबरुलको लामो समयदेखि अनैतिक सम्बन्धबारे मस्तकिमले थाहा पाएका कारण श्रीमतीले उनको हत्या योजना बुनेको प्रहरी अनुसन्धानले देखाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us