नेपाली कामदारलाई कोरिया जाने वित्तिकै मोबाइल

काठमाण्डु टुडे २०७१ असोज ७ गते १०:४७ मा प्रकाशित

काठमाण्डु, ७ असोज – कोरियाको मोबाइल सेवा प्रदायक कम्पनी जेसीटीले नेपालबाट रोजगार अनुमति प्रणाली (इपीएस) मार्फत कोरियामा रोजगारीमा जाने युवा युवतीहरुलाई कोरिया पुगे लगत्तै मोबाइल फोन उपलब्ध गराउने घोषणा गरेको छ ।

jtccजेसीटी मंगलबार रिपोर्टर्स क्लव नेपालमा पत्रकार सम्मेलन गरी भाषा परीक्षा पास गरी रोजगारीका लागि कोरिया जाने नेपाली कामदारलाई सुलभ दरमा अत्याधुनिक मोबाइल सेट र सीमकार्ड उपलब्ध गराउने जानकारी दिएको हो ।

कार्यक्रममा बोल्दै कम्पनीका प्रबन्धक मयेङ सुङ जेएले नेपाली कामदारहरुले कोरिया पुगेर कम्पनीमा काम गर्न थालेलगत्तै मोबाइल प्राप्त गर्ने स्पष्ट पारेका छन् ।

जेसीटीले ग्यालेक्सी थ्री, ग्यालेक्सी नोट टु, ग्यालेक्सी विन लगायतका मोबाइल सेट र सीम उपलब्ध गराउने छ । जसका लागि कामदारहरुले करीब ४८ हजार नेपाली रुपैयाँ तिरे पुग्ने छ । तर कामदारहरुले तलब बुझेर मात्रै मोबाइलको पैसा तिर्न सक्नेछन् भने किस्तामा पनि तिर्ने विकल्प पनि जेसीटीले दिएको मयेङले बताए ।

कामदारहरुले मोबाइल प्रयोग गरेवापत मासिक रुपमा करीब ३५ सय नेपाली रुपैयाँ बराबरको चार्ज तिर्नुपर्ने पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो । जसमा कोरियाभित्र २ सय कल र अन्तर्राष्ट्रिय कल ५० मिनेट बराबर गर्न सकिनेछ ।

कामदारहरुले दुई बर्ष उक्त मोबाइल सेट चलाईसकेपछि नेपालमा रहेका आफन्तलाई पठाउन सक्नेछन् ।

जेसीटीले भियतनाम, बर्मा, उज्वेकिस्तान लगायत पाँच वटा देशका कामदारलाई पनि यस्तो सेवा उपलब्ध गराइरहेको र नेपाल छैठौं देश भएको जानकारी पत्रकार सम्मेलनमा दिइयो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us