म्याग्दी, ७ असोज– म्याग्दीको हिस्तान गाविसमा मंगलबार भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ ।
जिल्लाको राम्चेबाट यात्रु लिएर सदरमुकाम बेनी आउँदै गरेको ग १ ज ४३२४ नम्बरको जिप हिस्तानको गिद्धेश्वर मन्दिरनजिकै भीरबाट खसेर दुर्घटनाग्रस्त भएको हो ।
दुघर्टनामा जीपमा सवार सबैको मृत्यु भएको प्रहरी नायब उपरीक्षक जनार्दन बीसीले बताए । मृत्यु हुनेम राम्चे गाविस गाविस बागलुङका शालिग्राम सापकोटा, उनका भाई बैकुण्ठ, भवन डिभिजन कार्यालय, बाग्लुङका इन्जिनियर डिल्ली श्रेष्ठ र सुपरभाइजर हेमन्त सिउँथानी रहेका छन् ।
यस्तै राम्चे स्वास्थ्यचौकी भवनका ठेकेदार रामबहादुर खत्री बाग्लुङका सुमित मलेपति, राम्चे काफलडाँडाका चालक डमबहादुर पुर्जा, राम्चे–३ का सुरेश गर्बुजा र राम्चे–४ की याममायाँ पूर्जाको मृत्यु भएको छ । मृतक अन्यको सनाखत हुन बाँकी छ ।
प्रहरीका अनुसार जिप सडकबाट करिब एक सय मिटर तल खोचमा खसेको छ । अप्ठेरो सडकमा क्षमताभन्दा बढी यात्रु बोकेका कारण जिप दुर्घटना भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।