पार्टी एकताका लागि प्रचण्डले लेखे वैद्यलाई पत्र

काठमाण्डु टुडे २०७१ असोज ६ गते १४:४२ मा प्रकाशित

काठमाण्डु, ६ असोज– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा– माओवादी अध्यक्ष मोहन वैद्यलाई एक पत्र लेख्दै पार्टी एकताका लागि गम्भीर prachanda-baidhyaरहेको बताएका छन् ।
नेकपा–माओवादीले गत वैशाख अन्तिम साता एकताका लागि अघि सारेका ६ बुँदे सर्तको लिखित जवाफ दिँदै उनले पार्टी एकताका लागि सकारात्मक रहेको बताएका हुन् । पत्रमा प्रचण्डले पार्टी एकताका लागि वैद्य माओवादीले अघि सारेका अधिकांश बुँदामा आफूहरु सैद्धान्तिक रुपमा सहमत रहेको स्पष्ट गरेका छन् ।

‘नेकपा– माओवादी पोलिट्ब्युरोको ‘पार्टी एकता सम्बन्धी प्रस्तावलाई हाम्रो पार्टीले गम्भीर र सकारात्मक पहलका रुपमा लिएको छ’, पत्रमा प्रचण्डले भनेका छन्, ‘हामी स्पष्ट गर्न चाहन्छौं कि पार्टी एकताका लागि तपाइंहरुले प्रस्तुत गरेका सैद्धान्तिक, राजनीतिक तथा साङ्गठनिक ६ बुँदे आधारमध्ये १, ३, ४, ५ र ६ नम्बर बुँदामा अभिव्यक्त विचार र स्पीरिटमा हाम्रो पार्टी सैद्धान्तिक रुपले सहमत रहेको छ ।’

२ नम्बर बुँदाका हकमा भने जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्दै समाजवादी क्रान्तिका लागि अगाडि बढ्ने एमाओवादी लाइन सही रहेको उनको दाबी छ । उक्त बुँदामा नयाँ जनवादी क्रान्तिको नीति, कार्यक्रम र कार्यदिशालाई स्वीकार गर्नुपर्ने प्रस्ताव वैद्यले राखेका थिए । यद्यपि नेपाली क्रान्तिको कार्यभार पूरा गर्ने ऐतिहासिक आवश्यकताप्रति गम्भीर हुँदै त्यस विषयमा समेत खुला छलफलमार्फत साझा निष्कर्षमा पुग्न तयार रहेको  प्रचण्डले स्पष्ट गरेका छन् ।
एकताका लागि वैद्यका ६ सर्त
यस्तो थियो वैद्यका ६ बुँदे सर्त
१. माक्र्सवाद–लेनिवाद–माओवादलाई पथप्रदर्शक सिद्धान्तका रूपमा अवलम्बन गर्नुपर्ने
२. नयाँ जनवादी क्रान्तिको नीति, कार्यक्रम र कार्यदिशालाई स्वीकार गर्नुपर्ने ।
३. संसदवादलाई अस्वीकार गर्नुपर्ने ।
४. सामाजिक क्रान्ति र रुपान्तरणका लागि बलप्रयोगको भूमिकालाई स्वीकार्नुपर्ने ।
५. पार्टी इतिहासको समीक्षा गर्न र गल्ती, कमी कमजोरीलाई सच्याउन तयार रहनुपर्ने ।
६ जनवादी केन्द्रीयताको मर्म तथा भावनाअनुरूप संगठन सञ्चालन गर्न राजी हुनुपर्ने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us