रातिराति ढुङ्गा गिट्टी चोरी निकासी गर्ने ट्र्याक्टर स्थानीयले समाते

काठमाण्डु टुडे २०७१ असोज ६ गते ७:२९ मा प्रकाशित

धादिङ, ६ असाेज –  दक्षिण धादिङको आग्रा खोलाका २० भन्दा बढी ट्र्याक्टरलाई रातिराति ढुङ्गा गिट्टी चोरी निकासी गर्दै गरेको अवस्थामा स्थानीयले गएराति नियन्त्रणमा लिएका छन्।

gittiजिविस र गाविसले तोकेको भन्दा अन्यत्र स्थानबाट उत्खनन गर्दै मापदण्ड विपरीतका क्रसर उद्योगहरुले अवैधानिक रुपमा निकासी गरेको भन्दै स्थानीयले ट्र्याक्टरलाई नियन्त्रणमा लिएका हुन्।

आग्राखोलाको झोलुङ्गे पुल क्षेत्रबाट नियन्त्रणमा लिएका सबै ट्र्याक्टरको हावा खोलेर खोलामा नै छोडिएको स्थानीय विकास कार्कीले बताए।

स्थानीयले ट्र्याक्टरलाई नियन्त्रणमा लिएपछि क्रसर सञ्चालक र ट्र्याक्टर चालक भने सबै भागेका छन्। खोलाबाट दैनिकजसो एक सय टिपभन्दा बढी निकासी हुने गरेको छ।

आग्रा खोला क्षेत्रमा सञ्चालनमा रहेको कालिका रोडा ढुङ्गा उद्योग, गोरखकाली र सिलादेवी क्रसर उद्योगले मापदण्ड पूरा नगरी ढुङ्गा रोडा निकासी गरिरहेको स्थानीयले जानकारी दिएका छन्।

आग्राखोलाबाट निस्कासन हुने गिट्टी र ढुङ्गाको स्थानीय गाविसले कर उठाउनलाई ठेक्का लगाएको छ। राति चोरी निकासी गर्दा उनीहरुले गाविसको समेत कर छल्ने गरेको स्थानीयले बताएका छन्।

गत वर्षहरुमा खोलाबाट निस्कासन हुने ढुङ्गा गिट्टीको स्थानीय गाविस, विद्यालय र केही क्लबले रकम लिँदै आएका थिए।

यसरी लिइँदै आएको रकम प्रहरीले बन्द गराएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक प्रेमबन्धु पोखरेलले जानकारी दिनुभयो। स्थानीयले ट्र्याक्टरलाई नियन्त्रणमा लिएपछि प्रहरी राति नै घटनास्थल पुगेको थियो।

जिल्ला विकास समिति धादिङले अवैधानिक रुपमा चोरी निकासी गरेको खण्डमा प्रहरीले नियन्त्रणमा लिएपछि जरिवाना सहित कारबाही गर्ने गरेको छ।

नदी तथा खोलामा डोजर स्काभेटरको प्रयोग गरेमा र सवारी साधनबाट चोरी निकासी गरेमा रु २० हजारदेखि रु एक लाखसम्म जरिवानाको व्यवस्था रहेको जिविस राजस्व शाखाका तुफेल अहमद खाँले बताए।

जिविसले भदौ महिनामा रु एक लाख ५४ हजारबराबरको जरिवाना असुल गरेको उनले जानकारी दिए।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us