बिहे गर्दा जागिर गयो

काठमाण्डु टुडे २०७१ असोज ६ गते २:५८ मा प्रकाशित

जाजरकोट, ६ असोज– बिहे गरेको निहुँमा एक महिलाले जागिरबाट हट्नुपरेको छ । कोर्ताङ गाविसकी लेखा सहायक गीताकुमारी बस्नेतलले बिहे गर्दा सजाय भोग्नुपरेको हो ।

कोर्ताङ–४ मेसुकी उनी सात वर्षअघि गाविसको लेखा सहायक अधिकृतमा नियुक्त भएकी थिइन् । मजकोट–९ का बुद्धिबहादुर बस्नेतसँग उनले बिबाह गरिन् । गाविस सचिव दीपकबहादुर जीशीले उनलाई बिहे गरेर अर्कै गाविसमा गइसकेको भन्दै बर्खास्त गरिदिए ।
बिहे गरेपछि कार्यालयको काममा बाधा पुग्ने र कोर्ताङमा उक्त काम गर्ने जनशक्ति पनि उपलब्ध भएको भन्दै उनलाई अवकास दिइएको हो । जसका कारण उनी न्यायका लागि डेढ महिनादेखि सदरमुकाम धाइरहेकी छन् । उनले गत साउन २१ मा जिल्ला प्रशासनमा उजुरी दिएकी छन् ।

विवाहित भएकै कारण काम गर्न नसक्ने भन्दै आफूलाई अन्यायपूर्ण तवरले हटाइएकाले उजुरी दिन बाध्य भएको उनले बताइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us