मोहन वैद्यले गुमाएको अन्तिम अवसर

काठमाण्डु टुडे २०७१ असोज २ गते ५:१३ मा प्रकाशित

नेकपा–माओवादीका अध्यक्ष कमरेड मोहन वैद्य ‘किरण’ एकपटक फेरि चर्चामा छन् । उनलाई संविधानसभालाई कमजोर बनाउन र आफ्नो राजनीतिक लाइनअनुसार jhalakअहिलेको समग्र राजनीतिक प्रक्रिया भाँड्न खोजेको भन्नेहरू पनि छन् । उनले आफैँले डाक्न लगाएको गोलमेच सम्मेलनमा नगएर गल्ती गरे भन्नेहरू पनि धेरै छन् । मेरो विचारमा उनी यतिवेला आफ्नै विचार र अहम्को पासोमा नराम्ररी फसेका छन् । उनी मात्रै फसेको भए त केही थिएन, उनीसँग हिजो माओवादी आन्दोलनमा सहभागी नेता र कार्यकर्ताको ठूलै हिस्सा पनि यो पासोमा नराम्ररी अल्झेको छ । यसकारण पनि वैद्यबारे चर्चा गर्नु समसामयिक नै हुनेछ ।
वैद्यसँग मेरो जम्मा दुईपटक भेट भएको छ । पहिलोपटक म गोंगबु चोकभित्रको उनको डेरामा मूल्यांकन मासिक पत्रिकाका लागि अन्तर्वार्ता लिन पुगेको थिएँ । साथमा मूल्यांकनका कार्यकारी सम्पादक भोगिराज चाम्लिङ पनि हुनुहुन्थ्यो । उनको डेरा एउटा चिसोचिसो घरको भुइँ तलामा थियो । दमका रोगी र ६५ वर्ष काटिसकेका वैद्यको रहनसहनको सादगीपना देखेर हामी दुवै खुसी भएका थियौँ । उनलाई मैले निकै रुखा प्रश्न सोधेको थिएँ । तर, उनी एकपटक पनि उत्तेजित भएनन् । उनको बोली नरम, विचारमा प्रस्ट र सिलसिला मिलेको थियो । त्यतिवेला उनी संसद्को सबैभन्दा ठूलो दल नेकपा माओवादीका उपाध्यक्ष थिए । शक्ति थियो । उनलाई लगानी गर्न चाहनेहरू अवश्य थिए । तर, उनी सत्ताको नकारात्मक प्रभावबाट मुक्त थिए । दोस्रोपटक डा। ऋषिराज बरालहरूले निकालेको एउटा विचारधारात्मक पत्रिकाको परिचर्चा कार्यक्रममा म पनि वक्ताको रूपमा बोलाइएको थिएँ, वैद्य कमरेड प्रमुख अतिथि थिए । माओवादी विभाजित भइसकेको थिएन । मैले उक्त पत्रिकाले चिनियाँ सांस्कृतिक क्रान्तिका बासी विचार बोकेको भन्दै अलोचना गरेको थिएँ । त्यस दिन वैद्यले निकै सरल र शिष्ट भाषामा नेपाली क्रान्तिबारे बोलेका थिए । विचारमा ‘हार्डलाइनर’ र रुखो मिजासका भनेर समाजमा बनेको छवि यस्ता भेटघाटमा भने कत्ति देखा पर्दैनथ्यो । उनीसँग आफ्ना मनमा भएको ‘इगो सेन्ट्रिक’ आकांक्षालाई छोप्न सक्ने खुबी रहेको मैले महसुस गरेको थिएँ ।
यी शान्त र भद्र नेताले बितेका पाँच वर्षमा नेपाली राजनीतिमा जे–जस्ता कदम चाले त्यसलाई हेर्दा भने यिनी आफ्नो मनभित्र एउटा भयानक महत्त्वाकांक्षाको आगो बालेर बसेका रहेछन् भनेर अनुमान लगाउन सकिन्छ । सिलिगुडी जेलबाट छुटेर आएदेखि नै उनी माओवादीले शान्तिपूर्ण राजनीतिमा आएर गल्ती गर्यो , प्रचण्ड र डा। बाबुराम भट्टराईले क्रान्तिलाई धोका दिए भन्ने ‘हाइपोथेसिस’लाई स्थापित गराउने अभियानमा लागे । उनलाई खुला संसदीय राजनीतिको चकाचौधमा आफ्नो पर्सनालिटी होचो हुँदै गएको, क्रान्तिका नाममा बिताइएका वर्ष खेर गएका र देशमा क्रान्तिकारी परिस्थिति विद्यमान रहेको एउटा भयानक भ्रमले लखेट्न थाल्यो । उनको व्यवहारलाई निर्देशित गर्ने यो भ्रमले अन्ततस् माओवादी पार्टीलाई सरकार र संविधानसभा दुवैतिर नराम्रोसँग असफल बन्ने बाटोतिर धकेलिछाड्यो । पार्टीभित्रका सबैभन्दा सम्मानित नेताका रूपमा उनको प्रभाव कम गर्न प्रचण्ड पनि असफल भए । डा। भट्टराईले त वैद्यको रणनीतिलाई नै प्रयोग गरेर प्रधानमन्त्री चप्काए । तर, भट्टराई प्रधानमन्त्री बनेको भोलिपल्टबाटै वैद्यहरूले उनको पनि विरोध सुरु गरे । पार्टीलाई फेरि सशस्त्र विद्रोहको बाटोमा लैजाने र नेपालमा पनि चिनियाँ क्रान्तिजस्तै आफ्नो पार्टीको नेतृत्वमा जनवादी शासन स्थापना गर्ने भित्री उद्देश्य र संविधानसभाको बाटो मिल्दैनथ्यो । बिस्तार यी पार्टीभित्र वैद्यको वरपर एउटा शक्ति तयार भयो र छँदाखाँदाको पार्टी विभाजित गरेर वैद्य कमरेड क्रान्तिको बाटोमा लाग्नुभयो । यतिसम्म त ठिकै थियो । जनमत क्रान्तिको पक्षमा छ र समर्थन प्राप्त छ भने क्रान्ति गर्न सकिन्छ, गर्नुपर्छ पनि । तर, ग्राउन्ड रियालिटी फरक थियो । कुण्ठा, रिस, आवेग र भ्रमको मिसमास भएका नेता–कार्यकर्ता या समर्थकलाई पछि लगाएर क्रान्ति गर्न हिँडेका कमरेड किरण न काठमाडौंबाट बाहिर क्रान्तिकारी शक्ति संगठित गर्न निस्कन सके, न अहिलेको राजनीतिक प्रक्रियाबाट पर पुग्न । उनको बाटो फेरि गोलमेच सम्मेलन, नयाँ संविधानकै वरपर चक्कर काट्न थाल्यो । उनले दिएको चुनाव बहिष्कारको नाराले दोस्रो संविधानसभामा परिवर्तनकारी कार्यसूची भएका दलहरूलाई कमजोर बनाउने र समग्रमा जनयुद्धले उठाएका र स्थापित गरेका कार्यसूचीलाई किनारामा धकेल्ने काम मात्रै गर्योन । निर्वाचनका क्रममा उनको पार्टीपंक्ति अझै छिन्नभिन्न मात्रै भयो । जनताले उनको नारालाई हावामा उडाइदिए ।
निर्वाचनमा आफ्नो नारा असफल भएपछि उनको पार्टीका अगाडि नयाँ चुनौती आइलाग्यो । या त सशस्त्र क्रान्तिमा तत्काल लागिहाल्नुपर्ने या त फेरि संविधानसभालाई दबाब दिएर परिवर्तनका नारा मिल्नेसँग सहकार्य गर्दै अहिलेको राजनीतिक प्रक्रियालाई सघाउनुपर्ने विकल्प मात्रै उनीसँग थिए । तर, उनले कुनै गतिलो विकल्पविनै संविधानसभालाई गाली गर्ने र असफल पार्ने मति लिए । भत्केको घरको चारतिर दैलो भनेजस्तो अब पार्टीमा उनको नेतृत्वमाथि प्रश्न उठाएर विप्लवले अलग बाटोको कुरा गर्न थाले । अहिले वैद्य कमरेड हिजो प्रचण्डलाई दिएका गालीका भारले आफँै थिचिएर हैरान परेका छन् । पार्टीमा आफ्नो अर्थ देखाइरहन उनले अघि सारेको गोलमेच सम्मेलनको नारा पनि फेल भएको छ, अलिकती पार्टीभित्रको दबाबले, अलिकती कांग्रेस र एमालेहरूको घमन्डले ।
जुनसुकै कारणले भए पनि यसपालिको गोलमेच बहिष्कार गरेर कमरेड वैद्यले आफ्नो राजनीतिक भविष्य र आफ्नो पार्टीका लागि नयाँ संकट निम्त्याएका छन् । यो सम्मेलनले उनी र उनको पार्टी तथा मोर्चाका लागि राम्रो अवसर ल्याउने थियो ।
पहिले उनीहरूले संविधानसभा निर्वाचन बहिष्कार गरेर भएको भुल सच्याउन पाउने थिए । यसो गर्दा संविधान निर्माण प्रक्रियामा सामेल भएको र नयाँ संविधानमा आफ्नो पनि स्वामित्व भएको दाबी गर्ने ठाउँ रहन्थ्यो । एउटा कुरा निश्चित छ, यो संविधानसभाले संविधान पनि बनाउँछ अनि यो संविधान जनआन्दोलन र जनयुद्ध तथा अरू आन्दोलनले स्थापित गरेका कार्यसूची या जनादेशभन्दा प्रतिगामी हुनेछ । पछिल्लो संविधानसभाको मत परिणामले जनआन्दोलनको जनादेशलाई समेत खण्डित गरिसकेको छ । तर, यतिवेलाको प्रगतिशील काम भनेको संविधानसभामा भएका या रहेका परिवर्तन पक्षधर शक्तिले सडक र संविधानसभा या दलीय संयन्त्रको प्रयोग गरेर जतिसक्यो बढी जनमुखी कार्यसूचीलाई संविधानमा पार्न दबाब दिने हो । त्यसका लागि सडक संघर्षसमेत गर्ने हो । यी दुवै प्रयोजनका लागि ३१ गतेको फोरममा गएर आफ्ना विचार, कार्यसूची तथा संविधानमा अफूले के–कस्ता पक्ष समावेश गर्न खोजेको हो, त्यसलाई प्रस्टसँग राखेको भए जनताले उनीहरूप्रति सहानुभूति राख्न पनि सक्थे । कमसेकम सडकमा जानैका लागि पनि अफूसँग नैतिक बल त रहन्थ्यो कि ।
जनआन्दोलनको राप सेलाएको र माओवादी कमजोर भएकै कारण हो कि पहिले संविधानसभाले गर्न सकिने जति उपलब्धि अब प्राप्त हुनेछैनन् । यसका लागि प्रचण्ड, बाबुराम र मधेसी नेता जति जिम्मेवार छन्, इतिहासमा कमरेड वैद्य पनि त्योभन्दा कम जिम्मेवार मानिनेछैनन् । यसमा कांग्रेस या एमाले या अरू शक्तिलाई धेरै दोष दिनुको खासै मतलब पनि छैन । माओवादी आन्दोलनले आर्जन गरेको शक्ति कमजोर बनाएर वैद्य समूहले गरेको क्षतिपूर्ति गर्ने भनेकै अब पनि पहिचानसहितको संघीयता र स्रोतहरूको पुनर्वितरणका पक्षमा हुनेहरूसँग मिलेर संविधानसभालाई दबाब दिने र अर्का निर्वाचनको तयारी गर्ने हो । यस्तो कामको राजनीतिक औचित्य स्थापित गर्ने अवसर गोलमेच बन्न सक्थ्यो । कमरेड किरणले त्यस्तो अवसर गुमाएर आफूलाई फेरि कमजोर बनाएका छन् । वास्तविकता र राजनीतिक अन्ध आकांक्षाबीच डोलायमान भएर किरण कमरेड अँध्यारो गल्लीतिरको यात्रामा निस्केका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us