उत्तरप्रदेशमा नेपाली विद्यार्थीको हत्या

काठमाण्डु टुडे २०७१ भदौ २८ गते ३:०८ मा प्रकाशित

काठमाण्डु– भारतको उत्तरप्रदेश राज्यमा एक नेपाली विद्यार्थीको हत्या भएको छ ।
हापुर जिल्लामा नेपाली विद्यार्थी विशाल शुक्लाको साथीहरुको पिटाइबाट ज्यान गएको हो । शुक्ला सर्लाही सिरौत गाविसका बासिन्दा थिए । दुई दिनअघि भएको यो घटनाले विदेशी विद्यार्थी भारतमा कति असुरक्षित छन् भन्ने कुरा देखाएको छ ।
विशाल कोनाद विश्वविद्यालयमा मेकानिकल इन्जिनियरिङका दोस्रो वर्षका विद्यार्थी थिए । हत्याको विरोधमा दिल्लीको बाराखम्बारोडस्थित नेपाली दूतावासमा मृतकका परिवार र आफन्तले प्रदर्शन गरेका छन् । उनीहरुले विशालको हत्यामा संलग्नहरुलाई कारबाही गर्न प्रहरीले पर्याप्त ध्यान नदिएको आरोप लगाएका छन् ।
केही व्यक्तिले बुधबार साँझ ४/५ बजे विशाल तथा उनका साथी मनीष शर्मालाई छालाको पेटीले हिर्काएका थिए । केही समयअघिदेखि सोही विद्यालयमा अध्ययनरत स्थानीय युवाले सोनु भनिने विशाललाई हैरानी गर्दै आएको बुझिएको छ ।

‘कलेजबाट करिब १५ किलोमिटरका दुरीमा पर्ने एनएच २४ मा ४ वटा मोटरसाइकलमा आएका आठजना युवाले हामीमाथि आक्रमण गरे,’ मनीषले भने,‘मैले मोटरसाइकल चलाइरहेको थिएँ ।

मोटरसाइकल पछाडि विशाल बसेका थिए । उनीहरुले हामीलाई पेटीले हिर्काउन थाले । हामी मोटरसाइकलबाट लड्यौं । विशालको माथिबाट उनीहरु कुदे । लडेको केही समयपछि म उठें । मैले विशाल मरेको महसुस गरें ।’मनीष नयाँदिल्ली गजियाबादका बासिन्दा हुन् । अन्नपूर्ण पोष्टबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us