
काठमाण्डु, २६ भदौ– नेपाल प्लाष्टिक उत्पादक संघले सरकारले बिनाविकल्प प्लाष्टिकको झोला बन्द गरेमा आफूहरु आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।
बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै संघले प्लाष्टिकको झोला बन्द गरेमा झनै ठूलो समस्या उत्पन्न हुने भन्दै प्लाष्टिकका झोलाहरु बन्द गर्न नहुने बरु व्यवस्थापन गर्नुपर्नेमा जोड दिएको हो ।
संघका अध्यक्ष शैलेन्द्रलाल प्रधानले सरकारले विगत कालमा झोलाको नियन्त्रण तथा नियमनका लागि निर्देशिका तयार पारेको भन्दै सोही निर्देशिकाअनुसार व्यवस्थापन तथा अनुगमनका कार्यलाई तदारुकताका साथ कार्यान्वयन गर्न माग गरे ।
‘यो प्लाष्टिकको झोला उपयोग गर्दा कुनै समस्या छैन, यसको उचित प्रयोग र व्यवस्थापन गर्न नसक्दा समस्या आएको हो । त्यसैले सरकारले यसमा ठोस पहल कदमी चाल्नुपर्छ । प्लाष्टिकको झोला बन्द गर्दैमा समस्या समाधान हुँदैन ।’
प्रधानले प्लाष्टिकको झोलाको विकल्प कागजको झोला नभएको जिकिर गर्दै दी विकल्पका रुपमा कागजको झोला प्रयोग हुने भए धेरै पहिल्यै नै प्लाष्टिकका झोला बन्द भइसक्ने स्पष्ट पारेका छन् ।
त्यस्तै प्लाष्टिक इन्जिनियर डा. रमेशमान सिंहले प्लाष्टिकको उपयोगिता एवम् त्यसको उत्पादका बारेमा प्रष्ट धारणा राख्दै प्लाष्टिकको झोलाले कुनै हानी नगर्ने भन्दै उपयोगका लागि आग्रह गरेका छन् ।
सिंहले प्लाष्टिकको झोला प्रयोग गर्दा स्वास्थ्यलाई हानी पुग्छ भनि गरिएको प्रचार विल्कुलै गलत भएको समेत दाबी गरे ।