
चितवन, २२ भदौ– कुखुराको मासुको मूल्य लगातार घट्दा ब्रोइलर पाल्ने किसान मर्कामा परेका छन् ।
चितवनमा कुखुरा व्यवसायी मञ्चले मासुको उपभोक्ता मूल्य प्रतिकेजी दुई सय २० रुपैंयाँ र किसानसँग किन्ने जिउँदो कुखुराको मूल्य प्रतिकिलो एक सय १५ रुपैंयाँ कायम गरेको छ । किसानहरु यो भन्दा पनि कम मूल्यमा किनबेच हुने गरेको बताउँछन् ।
‘किसानले प्रतिकिलो सयदेखि एक सय १० रुपैंयाँसम्म पाएका छन्’, वलपरासी अमरापुरीका ब्रोइलरपालक धनपति ज्ञवालीले भने । चितवन नवलपुर कुखुरा पालक संघका अध्यक्ष दीपक पाण्डे यो मूल्य लागतभन्दा कम भन्छन् । किसानले डेढ महिनाअघि प्रतिगोटा ७५ रुपैंयाँ चल्ला किनेर खोरमा राखेका थिए ।
राम्रो दाना खायो भने एउटा चल्ला ४५ दिनपछि बढीमा अढाइ किलोसम्म पुग्छ । सामान्यतः दुई किलोभन्दा बढी हुँदैन । अहिले ७५ देखि ८० रुपैंयाँ गोटा चल्ला हालेका किसानले हुर्काएर बेच्दा मुस्किलले दुई सय ३० रुपैंयाँ पाउँछन्,’ अध्यक्ष ज्ञवालीले भने । ज्ञवालीका अनुसार चल्ला दुई किलोको बनाउन दुई सय ४० देखि दुई सय ८० रुपैंयाँ थप लागत लाग्छ ।