
मुगु, २१ भदौ– मुगु गाविस–६ का एक व्यक्ति गाउँलेलाई छलेर एक्लै यार्सागुम्बा टिप्न लेकतिर गएको आरोपमा उनीसँग बोल्ने व्यक्तिले पनि जरिवाना तिर्नुपर्ने भएको छ।
स्थानीय कार्मा काङ्डोल लामा सहमतिविपरीत एक्लै यार्सा टिप्न गएको भन्दै गाउँलेले उनीसँग बोलचाल गर्नेलाई एक लाख रुपैयाँसम्म जरिवाना तिराउने उर्दी जारी गरेका हुन् ।
गत जेठमा गाउँलेबीच सबैजना एकैपटक यार्सा टिप्न जाने सहमति भएको थियो । तर, कार्मा सहमतिविपरीत अगाडि नै यार्सा टिप्न गएको आरोप लगाउँदै गाउँलेले उनलाई जरिवाना लगाएको हो । जरिवाना नतिर्ने बताएपछि गाउँलेले उनीविरुद्ध जिल्ला वन कार्यालयमा वन्यजन्तु र जडीबुटी चोरीनिकासी अभियोगमा मुद्दा हालेका थिए ।
अहिले उनीसँग बोल्ने र उठबस गर्ने व्यक्तिलाई ५० हजारदेखि एकलाख रुपैयाँसम्म जरिवाना गर्ने घोषणा गाउँलेहरुले गरेका छन् । त्यसको कार्यान्वयन पनि सुरु भइसकेको छ । कार्मासँग फोनमा कुरा गरेको भन्दै स्थानीय पेमा तोर्ची लामालाई ५० हजार र उनका नाता पर्ने अर्का एक स्थानीयलाई ६० हजार रुपैयाँ जरिवाना गरेका छन् । त्यस्तै आफ्ना घरमा सहयोगी रहेका ल्याक्याप कामीलाई समेत गाउँलेले ५० हजार रुपैयाँ जरिवाना गराएको उनले बताए ।
चीनसँग सीमा जोडिएको मुगु गाविसमा कुनै व्यक्ति गाउँका समुदायबाट फरक हुन चाहेमा गाउँलेको स्वघोषित नियमअनुसार सजायको भागीदार हुनुपर्छ । उस्तै परे गाउँलेले गाउँनिकालासम्म गर्ने चलन रहेको स्थानीय बासिन्दाले बताए ।
अन्नपूर्ण पोष्टबाट