तेह्रथुम, २० भदौ– तेह्रथुमको सोल्मा–६ मा एक युवतीको शुक्रबार घरमै हत्या भएको छ ।
१९ वर्षीया दिलकुमारी तुम्साको बलात्कारीको प्रतिकारमा मृत्यु भएको हो । घरमा कोही नभएका बेला दिलकुमारीमाथि बलात्कार प्रयास भएको र प्रतिकार गर्दा हत्या भएको अनुमान प्रहरीको छ ।
इलाका प्रहरी कार्यालय वसन्तपुरका निरीक्षक जितनारायण चौधरीले घटनास्थल र शवको प्रकृति हेर्दा बलात्कार प्रयासको प्रतिकार गर्दा हत्या गरिएको हुनसक्ने बताए ।
दिलकुमारीको तीन महिनाअघि सुरेन्द्र तुम्सासँग विवाह भएको थियो । उनका पति तीन दिनअघि नै संखुवासभाको मादीमुलखर्क आफन्तकोमा गएका थिए । मृतकको टाउको, पाखुरा र घाँटीमा धारिलो हतियारले काटेको गहिरो चोट छ ।
शव पोष्टमार्टमका लागि शुक्रबार तेह्रथुम जिल्ला अस्पतालमा ल्याइएको छ ।