प्रचण्डले भने, ‘वैद्यको सहमतिबिना संविधान आए भोलिपल्टै च्यातिन्छ’

काठमाण्डु टुडे २०७१ भदौ २० गते १४:३२ मा प्रकाशित

काठमाण्डु, २० भदौ– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान निर्माण कार्यतालिका थाती राखेर संविधानका Prachand-1अन्तरवस्तुमा सहमति खोजिनुपर्ने बताएका छन् ।
सिंहदरबारमा शुक्रबार बसेको सर्वदलीय बैठकमा उनले मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीसहितको सर्वपक्षीय भेलाअघि संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको कार्यतालिका परिवर्तन गर्नुपर्ने बताए ।

वैद्यलाई बाहिरै छाडेर जारी गरिएको संविधानले मुलुकलाई निकास नदिने उनको भनाइ थियो । सर्वपक्षीय राजनीतिक सभाअघि संविधानसभा कार्यतालिका स्थगन गर्नुपर्ने प्रचण्डले उल्लेख गरे । संविधानसभाको प्रक्रिया र सर्वपक्षीय सम्मेलन दुवै साथसाथै अघि बढाइनुपर्ने काँग्रेस–एमालेको भनाइमा उनले आपत्ति जनाए ।

‘वैद्यजीहरुलाई संविधान निर्माण प्रक्रियामा ल्याउन सर्वपक्षीय सम्मेलन गर्ने सहमति भइसकेको छ’, प्रचण्डले भने, ‘सर्वपक्षीय सहमति गर्ने अनि प्रक्रियाका नाममा सबै काम गर्ने हो भने वैद्यहरुलाई ढाँटेको हुँदैन ?’
अघिल्लो संधिवानसभामा प्रक्रियाको विरोध गर्ने काँग्रेस–एमालेले यसपटक प्रक्रियामा जान हतार गरिरहेको भन्दै उनले आपत्ति जनाए । उनले संविधानसभा नियमावली संशोधन गरेर कार्यतालिका परिमार्जन गर्नुको विकल्प नरहेको प्रष्ट्याए । उनले सबै पक्षको सहभागिताबिना जारी गरिने संविधानले काम नगर्ने दाबी गरे ।

‘सहमतिमा संविधान जारी नभए लागू हुँदैन’, प्रचण्डले भने, ‘सबैलाई मान्य हुने संविधान ल्याउने कि, संविधान जारी भएकै दिन च्यातिने संविधान बनाउने ?’ उनको प्रश्न थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us