काठमाण्डु, २० भदौ– हिन्दूवादी शब्द भन्दै गीत गाउन अस्वीकार गरेकी गायिका अञ्जु पन्तले माफी मागेकी छन् ।
सामाजिक सञ्जाल फेसबुकमा हस्तलिखित पत्र पोस्ट गर्दै उनले आफुबाट कुनै पनि धर्मलाई होच्याउने र घृणा गर्ने काम नभएको तथा भविष्यमा पनि त्यस्तो नहुने दाबी गरेकी छन् ।
पन्तले हिन्दुवादी गीत भन्दै दुर्गामाताको आर्शिवाद बोलको दशैंको गीत गाउन अस्वीकार गरेकी थिइन् । उनले आफ्ना बारेमा सञ्चार माध्यममा आएका समाचारबाट आफू दु:खी भएको पत्रमा उल्लेख गरेकी छन् ।
‘मेरो बारेमा जे जस्ता समाचारहरु सञ्चार माध्यमहरुमा आए त्यो प्रति म निकै दु:खी छु’, उनले भनेकी छन्, ‘म यो भन्न चाहन्छु कि
सम्पूर्ण पत्रकार, गीत संगीत प्रेमी दर्शक स्रोता र सबै धर्मावलम्बीप्रति श्रद्धा गर्दछु’, यदि मबाट जान–अन्जान केही भुल भएको भए क्षमा चाहन्छु ।’ गायिक पन्तले सबै धर्मावलम्बीमा नजिकिंदै गरेको चाडपर्व सरल र सभ्य किसिमले मनाउन आग्रहसमेत गरेकी छन् ।
हिन्दूवादी शब्द भन्दै गीत गाउन अस्वीकार गरेपछि उनको सवत्र्र आलोचना भएको थियो ।
गीतकार सहदेव कोइरालाको रचनामा रहेको गीत बुधबर पन्तले स्टुडियोमा पुगेर नगाइ फर्केकी हुन् । मालश्री रेकर्डिङ्ग स्टुडियोमा गीत गाउन पुगेकी उनले गीतको बोल सुनेपछि नगाउने बताएकी थिइन् । आफू क्रिश्चियन धर्मवालम्बी भएकाले हिन्दूवादी गीत नगाउने उनको जिकिर थियो ।