काठमाण्डु, २० भदौ– संविधानसभा विघटन हुनुपूर्व, १२ जेठ २०६७ मा सोल्टी होटलमा भयानक रहस्यपूर्ण जमघट थियो ।
जमघटमा नेपालका ‘हाइप्रोफाइल’ दरबारियाहरु र विदेशी खुफिया एजेन्सीका मानिसहरु पनि सहभागी थिए । त्यो जमघट कुनै पार्टीको थिएन ।
बरु त्यहाँ दुई दिनपछि चाल्ने राजनीतिक कदममाथि केन्द्रित थियो, किनभने त्यसको दुई दिनपछि संविधानसभा विघटन हुँदै थियो ।
सोल्टी होटलको त्यो रहस्यपूर्ण भेटघाटको ‘इनसाइड स्टोरी’ अहिले पनि गुपचुप छ ।
तर राजदरबारनिकट मानिने एक उच्च सूत्रले दिएको जानकारीअनुसार राजनीतिक ‘कू’ गर्ने त्यो भेला थियो र यसको आयोजना गरेका थिए हालै आत्मप्रशंसा मात्र राखेर किताब लेखेका रुकमाङ्गत कटवालले । भेटघाट राति ११ बजे डाकिएको थियो किनभने त्यसको गोपनियता बचाउने कटवालको प्लान थियो ।
पूर्वनिर्धारित योजनाअन्गर्तत उक्त बैठकमा भाग लिन पारस शाह, राजाका भान्जा राजेश सिंह, पूर्वप्रधानमन्त्री मरिचमान सिंह, भारतीय र चिनियाँ खुफिया एजेन्सीका व्यक्तिहरु ११ बजेपूर्व नै सोल्टी होटलमा पुगेका थिए ।
११ बजे बैठकमा सहभागी हुन बोलाइएका सबै पुगे तर कटबाल आफैँ भने पुगेनन् । घडीमा सवा ११ बज्यो, त्यतिबेला पनि कटवाल अझै पुगेनन् । त्यसपछि अन्य सहभागीले सामान्य छलफल गरे । बैठक आयोजना गरेको व्यक्ति नै नआएपछि एकपछि अर्का सहभागीले कटवाललाई फोन गरे, साढे ११ बजेतिर । त्यत्तिकैमा कटवालले आफू नजिकै आएको जानकारी गराए । सहभागीहरुले होटलको लविमा उनलाई कुरेर बसेका थिए ।
अचानक कालो कोट, त्यसमाथि कालो ओभरकोट, कालो ह्याट, कालो चस्मा, कालो मखलर र कालो जुत्ता लगाएका व्यक्ति भित्र पसे । त्यो व्यक्ति को हो भनेर बैठकमा सहभागी हुन गएकाहरु अलमल्ल परे । धेरैले सोचे कुनै विदेशी जासुस हो ।
जेठको गर्मीको महिना ओभरकोट देखेपछि सहभागीहरु पनि दंग परेका थिए । जुत्ता बजाउँदै त्यो व्यक्तिले यताउता हेर्यो । कसैले चिनेनन् । त्यसपछि कटवालले विस्तारै सबैसँग ‘कू’ गर्नेबारे छलफल गरे ।
जनधारणाा साप्ताकिहबाट