काठमाण्डु, १९ भदौ – एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधानका विवादित विषयमा दलहरुबीच सहमति हुनुकाे विकल्प नरहेकाे बताएका छन् ।
भारतमा उपचार गरेर बिहीबार स्वदेश फर्किएका अध्यक्ष ओलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग बाेल्दै भदाै २१ भित्र सहमति जुट्ने विश्वास व्यक्त गरेका छन् । उनले भने-’सम्वाद समितिले असहमति विषयमा सहमति प्राप्त गर्न खोज्दछ तर, कहि कतै सहमति भएन भने जे मा असहमति हुन्छ त्यो संविधानसभामा पेश हुन्छ ।’
सबै नेपालीले नयाँ संविधान आफ्नो अनुहार ऐनामा जस्तै देख्नु पर्ने भन्दै उनले राष्ट्रिय एकतालाई भित्रभित्र नखलबल्याउने सहमति हुने बताए । ‘राष्ट्रिय एकतामा धाँजो पार्ने हिसावले सहमति हुँदैन’ उनले भने ।
एमाओवादीको संसद अवरोधबारे सोधिएको प्रश्नमा भने उपाध्यक्ष वामदेव गौतमले जवाफ दिए ।
संसदीय व्यवस्थामा प्रतिपक्षले भनेको सबै सरकारले मान्नु नपर्ने भन्दै उनले भने-’ प्रतिपक्षले सत्तापक्षलाई लतारेर माग पुरा गराउने कोसिस भइरहेको छ । हामी त्यसलाई कुनै हालतमा मान्न तयार छैनौं ।’
चारबुँदे सहमतिमा उल्लेख भए अनुसार उच्चस्तरीय राजनीतिक समिति गठन गर्न तयार रहेको तर, समितिमा तीन दलमा हुने र नेतृत्व तीन दलका शीर्ष नेताले आलोपालो गर्ने उनले बताए ।