पीडीए संझौताले २२ अर्व घाटा हुने

काठमाण्डु टुडे २०७१ भदौ १९ गते ११:२२ मा प्रकाशित

काठमाण्डु, १९ भदौ – भारतसँग पिडिए सम्झौता भए देशको प्राकृतिक स्रोत साधनमाथि पूर्ण रुपले भारतको हस्तक्षेप कायम हुने भन्दै सरोकारवालाले विरोध गरेका छन् ।

मिडिया इन्टरनेसनलले बिहीबार काठमाण्डुमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा एनेकपा माओवादीका नेता लिलामणी पोखरेलले संविधान छलेर उक्त पिडिए सम्झौता हुन लागेको आरोप लगाए ।

विद्युत बेचेर नेपाल धनी हुने सपना सोचेका विभिन्न राजनितिक दलहरुले नेपाली जनताको आखाँमा छारो हाल्ने काम गरेको भन्दै उनले भएको सम्भावनाको जरै बेचेर देश गरीव हुने तर्क गरे । कच्चा पदार्थ विक्रि गरेर देश धनी हुन नसक्ने भन्दै उनले अपर कर्णाली परियोजना निकै सस्तो परियोजना भएका कारण यसमा नेपालीहरुकै लगानी हुनु पर्नेमा जोड दिए ।

जलमाफियाहरुका कारण पिडिए सम्झौता हुन लागेको बताउँदै नेता पोखरेलले उक्त पिडिए सम्झौता भए भारतको आक्रमण नेपाल सधै भइरहने बताए । भारतसँगको पिडिए सम्झौताले नेपाललाई करिब २२ अर्ब रुपैयाँ घाटा हुने भन्दै उनले उक्त सम्झौताको चौतर्फि विरोध आवश्यक रहेको उल्लेख गरे ।

सोही कार्यक्रममा जलस्रोत विज्ञ सन्त बहादुर पुनले अपर कर्णाली सम्झौतामा ३ सय मेगावाट विद्युत मात्र भारतले लैजान पाउने भनिएको तर भारतले अन्तिममा ९ सय मेगावाट विद्युत भारत लैजाने संझौता बनाएको आरोप लगाउदै त्यो कदापी हुन नसक्ने बताए ।

भारतसँग पिडिए सम्झौता गरे नेपालले निकै ठुलो घाटा व्यहोरनु पर्ने बताउँदै उनले माथिल्लो कर्णलीमा देशले ठुलो अधिकार गुमाउने खतरा रहेको भन्दै पीडीए संझौता हुन नहुने उल्लेख गरे । उनले उपर कर्णाली परियोजना संसारकै सबैभन्दा सस्तो परियोजना भएका कारण यस परियोजनामा नेपालीहरुकै लगानी हुनु पर्ने समेत बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै कर्णाली जलाधार संरक्षण समाजका अध्यक्ष लोकबहादुर राउतले उक्त पिडिए सम्झौता नेपालको पक्षमा नरहेको आरोप लगाए । पिडिए सम्झौता भारतको पक्षमा हुने भएका कारण यस सम्झौताबाट नेपालमा ठुलो दंगा फैलीने चेतावनी दिए ।

पिडिए सम्झौतामा नेपाललाई घाटा हुने गरि प्रावधान गरेका कारण यस सम्झौता नगर्न उनले आग्रह गरे । उनले पिडिए सम्झौता भएको दिन देखिनै नेपाललाई दैनिक १५ लाख भन्दा बढिको घाटा हुने उल्लेख गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us