सुपारी आन्दोलनबारे झापाकै व्यवसायी तथा कृषकहरु बेखबर

काठमाण्डु टुडे २०७१ भदौ १९ गते १०:४४ मा प्रकाशित

काठमाण्डु, १९ भदौ – नेपाल सुपारी उत्पादक तथा व्यवासयी संघ, झापाका अध्यक्ष अर्जुनकुमार कार्कीले नेपाल उद्योग बाणिज्य महासंघले सुपारी निर्यात गर्दा एकाधिकार कायम गरेको भन्दै आन्दोनलमा उत्रेका झापा र मोरङ्का व्यवसायीहरुले कृषक तथा व्यवसायीहरुको हकहितका लागि भन्दा पनि आफ्नो स्वार्थ पूरा गर्न आन्दोलन गरेको आरोप लगाएका छन् ।

arjunबिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै कार्कीले सुपारी व्यवसाय के हो र वास्तविक कृषक को हुन् भन्ने पहिचान गरि कृषक तथा व्यवसायीको हकहितमा आन्दोलन गर्न सुझाव दिएका छन् । कार्कीले आफूले कहिल्यै पनि झापामा सुपारी व्यवसायीको रुपमा नचिनेका व्यक्तिहरु अहिले काठमाण्डुमा आन्दोलन गरिरहेको प्रष्ट पार्दै साँच्चै सुपारी कृषकहरुका हकहितका लागि आन्दोलन गरेको हो भने स्थानीय सरोकारवालाहरुसंग सघन छलफल गर्नुपर्ने धारणा राखेका छन् ।

उनले भने–नामै नसुनेका व्यवासायीहरु आन्दोलनमा उत्रिएको देख्दा मलाई आश्चर्य लागेको छ । उहाँहरु साँच्चै किसानको पक्षमा र व्यवसायीहरुको हितका लागि आन्दोलनमा उत्रेको हो भने पनि स्थानीयहरुसंग छलफल गुर्नपर्छ । हामी त्यहाँको व्यवसायी हामीलाई नै आन्दोलनको बारेमा केही थाहा छैन् । यो आन्दोलन कसको विरुद्धमा कसको स्वार्थले भैरहेको छ हामी आश्चर्यमा छौं ।

कार्कीले भने–२०५८ सालमा भारतको धुपगुडीबाट सुपारी प्रशोधनको प्रक्रियालाई नेपालमा पहिलो पटक भित्र्याउने व्यक्ति म र रविचन्द्र नेपाल हौं । त्यसपछि मात्रै झापा जिल्लाभरि सो प्रशोधनको काम व्यवसायीक रुपमा फैलिएको हो । यसरी झापामा प्रशोधनको काम शुरु भएपछि त्यहाँका करिव ५ हजार जना स्थानीय वासिन्दाहरुले प्रत्यक्ष रोजगार समेत पाएका छन् ।

उनले झापामा ९ हजार ७ सय मेट्रिक टन सुपारीको उत्पत्तिको प्रमाणपत्र सुपारी खेती विकास केन्द्रीय समितिले सरकारवाट लिइसकेको बताउँदै नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष प्रदिपजंग पाण्डेले कानुन बमोजिम नै उत्पत्तिको प्रमाण पत्र दिएको कार्कीले जानकारी दिएका छन् ।कार्कीले भने–म कुनै पक्षको मान्छे होईन्, विशुद्ध व्यवासायी हुँ, म किसान तथा व्यवसायी दुवै भएको कारण मैले आफ्नो धारणा राखेको हुँ ।

उनले झापामा सुपारी व्यवसायी तथा कृषकहरुको हककितका लागि आफूहरुले २२ वटा सुपारी सहकारी संस्था समेत खोलेर काम गरिरहेको बताउँदै हाल काठमाण्डु बसेर आन्दोलन गर्ने व्यवसायीहरुले कसको लागि काम गरिहेका छन् त्यस वारेमा आफूहरु अनविज्ञ भएको समेत बताएका छन् । उनले झापाबाट भारततर्फ काँचो सुपारी प्रशस्तै गैरकानुनी ढंगबाट गैरहेको हूँदा आन्दोलनकारीहरुलाई आन्दोलन गरेर काठमाण्डुमा बस्नुभन्दा पनि त्यता तर्फ ध्यान दिन सुझाव दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us