नेपाली मूलका दुई मानव अधिकारकर्मी कतारमा बेपत्ता

काठमाण्डु टुडे २०७१ भदौ १९ गते ४:०० मा प्रकाशित

bepattaकाठमाण्डु, १९ भदौ– नेपाली मूलका  मानव अधिकारकर्मी कृष्ण उपाध्याय र गुणदेव घिमिरे गत आइतवार दिउँसोदेखि कतारको राजधानी दोहामा बेपत्ता पारिएको खबर बेलायती समाचार स्रोत द इण्डीपेण्डेण्टले उनीहरु कार्यरत संस्था नेटवर्क  फर राईट्स एण्ड डेभेलप्मेण्टलाई उधृत गर्दै छापेको छ।

कतारमा नेपाली कामदारको अवस्था अध्ययन गर्नको लागि उनीहरु आफ्नो कार्यस्थल नर्वेबाट गत हप्ता कतारको राजधानी दोहा गएका थिए। उनीहरुले आफ्नो कार्य सम्पादन र यात्राको क्रममा सादा तथा बर्दिधारी  कतारी पुलिसले आफूहरुलाई पिछा गरिरहेकोले असुरक्षित महसुस भएको सन्देश आफ्नो अफिस तथा साथीहरुलाई पठाएको जनाइएको छ।

कृष्ण उपाध्यायका एक जना साथीले प्राप्त गरेको टेक्स्ट म्यासेजको हवाला दिँदै समाचारमा भनिएको छ,’गत आइतवारदेखि  सम्पर्कमा नरहेका उनीहरु बसेको ग्र्याण्ड हायात होटेलबाट आफ्नो बसाइको अन्तिम दिन एयरपोर्ट जाने क्रममा  होटलबाट चेक आउट गरेपछि आफूहरु घेरामा परेकोले असुरक्षित महसुस गरि केहीबेर रिसेप्सन एरियामै बस्ने निधो गरेको उल्लेख छ। त्यस भन्दा पहिले गत शनिबार उपाध्यायले पठाएको म्यासेजमा आफूहरु पुलिसद्वारा पछ्याइएको र उनीहरुले दुःख दिने सम्भावना रहेको जनाइएको समेत समाचारमा उल्लेख छ।

उनीहरु दुवै जना त्यहाँस्थित नेपाली दूतावास र कुटनीतिज्ञको  सहयोगमा  कतारमा रहेका नेपाली कामदारहरुको वासस्थानको अवस्था र उनीहरुको अन्तर्वार्ता रेकर्ड गर्ने काममा तल्लिन थिए। नेपाल देखिनै मानव अधिकारको क्षेत्रमा काम गरेका उपाध्याय गत महिना मात्रै कामको शिलशिलामा लण्डनबाट नर्वे बसाई सरेका थिए।  उनीहरु दुवै जना बेलायती पासपोर्टधारी रहेको बताइदा बेलायती विदेश मन्त्रालयले यो रिपोर्टको जानकारी रहेको र बेपत्ताको खोजि भईरहेको जनाएको छ।उनीहरु कार्यरत संस्था जी एन आर डीले सम्भावित यातनाप्रति गम्भीर  चासो ब्यक्त गर्दै सकुशल रिहाइको माग गरेको छ।

कतारमा हुने २०२२ को विश्वकप फुटवलको निर्माणाधीन तयारीका लागी ल्याईएका नपाली कामदारहरुको दयनीय अवस्था अन्तर्राष्ट्रिय जगतमा उजागर पहिले नै भईसक्दा कतारले  विश्वव्यापी आलोचना खेपीरहेको छ। एम्नेस्टी इन्टरनेश्नल लगायतले कतारमा हुने गिरफ्तारी पछिका यातनाबारे चासो उठाउँदै आएका छन् ।

सेताेपाटी डटकमबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us