बल्खुमा विवादै विवादको चाङ, ओलीसँग भिड्ने नेपालको तयारी

काठमाण्डु टुडे २०७१ भदौ १९ गते २:१७ मा प्रकाशित

uml officeकाठमाण्डु, १९ भदौ– महाधिवेशन भएको दुई महिना नबित्दै सत्ताधारी एमालेमा आन्तरिक विवाद चुलिन थालेको छ ।
महाधिवेशनमा आमने-सामने भएका अध्यक्ष केपी ओली र नेता माधवकुमार नेपाल पक्षबीच देखिएका विवादका विषयको बल्खुमा चाङ लाग्दै गएको छ ।
पछिल्लोपटक अध्यक्ष ओलीले पार्टीको कोटामा सभासद् मनोनित भएका आठजनाको नाम सिफारिस गर्दा एकलौटी गरेको भन्दै नेपाल पक्ष आक्रमक रुपमा प्रस्तुत भएको छ ।

सोमबार बसेको पदाधिकारी बैठकमा नेता नेपालले ‘पेलेर जान खोजेको भए आफू भिड्न तयार रहेको’ भन्दै अध्यक्ष ओलीलाई चुनौती दिएका छन् भने उनी पक्षकै सचिव योगेश भट्टराईले सार्वजनिक रुपमै ओलीको खोइरो खनिरहेका छन् ।

ओलीको कार्यशैली पार्टी चलाउनेभन्दा एकलौटी रुपमा पेलेर जाने र गुट बलियो बनाउने देखेको आरोप लगाएको छ ।
सबैका आ-आफ्नै रणनीति
आन्तरिक विवाद बढ्दै गएपछि अध्यक्ष ओली र नेता नेपाल दुवै खेमा पार्टीभित्र बलियो बन्ने आ-आफ्नै दाउमा लागेका छन् । दुवै खेमाले विधान सम्पादन, कार्यविभाजन र पोलिटब्युरो तथा स्थायी समिति चयनमा ध्यान केन्द्रित गरेका छन् ।
सभासद् मनोनयन र संसदीय समिति सभापति चयनमा एकलौटी गरेको मुद्दा उठाएर स्थायी समिति र पोलिटब्युरो निर्वाचन आफ्नो पक्षमा पार्ने रणनीति नेपाल खेमाको छ ।

यो खेमा महाधिवेशनबाट पारित पोलिटब्युरो सदस्य बन्नका लागि एक कार्यकाल केन्द्रीय सदस्य भएको हुनुपर्ने व्यवस्था विधानमा हुबहु राख्नुपर्ने पक्षमा छ । ओली खेमाका धेरै केन्द्रीय सदस्य नयाँ भएकाले यो व्यवस्था लागू हुँदा पोलिटब्युरोमा आफू बलियो हुने नेपाल खेमाको बुझाइ छ ।
उता, अध्यक्ष खोली खेमाले भने पोलिटब्युरोमा जानका लागि एक कार्यकाल केन्द्रीय सदस्य रहनै पर्ने प्रावधान जस्ताकोतस्तै राख्ने भए स्थायी समितिमा पुग्न पदाधिकारीले पनि चुनाव लड्नुपर्ने तर्क गरिरहेको छ ।

नयाँ पत्रिकाबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us