दसैंको मुखमा ग्यास उद्योगीद्वारा आन्दोलन घोषणा

काठमाण्डु टुडे २०७१ भदौ १८ गते १५:२४ मा प्रकाशित

काठमाण्डु, १८ भदौ– उपभोक्ताको मागअनुसार कोटा वृद्धि गर्न १४ महिनादेखि पटकपटक सम्बन्धित निकायमा अनुरोध गर्दा पनि बेवास्ता नगरेको भन्दै नेपाल एलपी ग्यास उद्योग सङ्घले आन्दोलन घोषणा गरेको छ ।

संघले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी आन्दोलन घोषणा गरेको हो । पत्रकार सम्मेलनमा संघका अध्यक्ष शिवप्रसाद घिमिरेले सम्बन्धित निकायले आलटाल गरेका कारण ग्यासको चरम अभाव भएकाले आन्दोलन घोषणा गर्नुपरेको बताए ।
ग्यासमा घाटा कम गराउने नाममा आयल निगम उपभोक्ताको दैनिकीसित जोडिएको विषयमा पन्छिन खोजेको संघको आरोप छ ।

हाल बजारमा मासिक ३० हजार मेट्रिक टन ग्यासको आवश्यकता भए पनि २२ हजार ३७७ मेट्रिक टनको मात्र निगमले कोटा कायम गरेको कार्यक्रममा जानकारी गराइएको थियो । निगमकै तथ्याङ्कअनुसार पनि हाल ३५ प्रतिशत ग्यास अभाव हुने अध्यक्ष घिमिरेले बताए ।

नेपालका लागि ग्यास आयात हुने भारतीय आयल कर्पोरेसनको बरौनी रिफाइनरीलाई मर्मत सम्भार गर्ने काम भइरहेकाले ५० देखि ६० प्रतिशतमात्र ग्यास आयात भएकाले पनि उपभोक्ताले ग्यासको अभाव खेपिरहनुपरेको महासचिव मल्लीले दाबी गरे ।
सङ्घले घोषणा गरेको कार्यक्रमअन्तर्गत भदौ १९ गते प्रमुख राजनीतिक दलका केन्द्रीय कार्यालयमा ज्ञापनपत्र बुझाइने, २० गते उपभोक्तावादी सङ्घ संस्थासित छलफल गर्ने, २२ गते आइतबार एलपी ग्यास खरिद नगर्ने, २४ गतेबाट भारतीय आयल कर्पोरेशनका सबै रिफाइनरीबाट ग्यासको लोडिङ पूर्णरुपमा बन्द गर्ने, र भदौ २७ गते शुक्रबारबाट सम्पूर्ण भन्सार नाकाबाट ग्यास नछुटाउने कार्यक्रम रहेको सङ्घले जानकारी गराएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us