सुनसरी, १८ भदौ– प्रहरीले पैसा नदिए मारेर लाश खोलामा फालिदिने धम्की दिने एक गुण्डा नाइकेलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गुण्डा नाइके मोरङ उर्लाबारीका सुशन लिम्बू छन् । उनलाई इलाका प्रहरी कार्यालय इटहरीको टोलीले बुधबार इटहरीबाट पक्राउ गरेको हो ।
उनले टेलिफोनमार्फत इटहरीका व्यापारी रकम माग गर्दै नदिए ज्यान मार्ने धम्की दिएपछि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख नायब उपरीक्षक विनोद शर्माले बताए । पछिल्लोपल्ट निर्माण व्यवसायी भीम पौडेललाई लिम्बूले दस लाख मागेका थिए ।
उनले तीन दिनभित्र १० लाख नदिए मारेर बूढी खोलामा लास फालिदिने धम्की दिएका थिए । प्रहरीले अपहरण तथा शरीरबन्धक मुद्दामा अदालतबाट म्याद थप गरी लिम्बूबारे अनुसन्धान थालेको छ ।
उनी इटहरी क्षेत्रमा लामो समयदेखि संगठित गुण्डागर्दी र आपराधिक गतिविधिमा संलग्न रहँदै आएका थिए ।