तेल चोरी बहानामा घरको न घाटको बनाएको भन्दै आन्दोलन गर्ने महासंघको चेतावनी

काठमाण्डु टुडे २०७१ भदौ १८ गते ९:३८ मा प्रकाशित

काठमाण्डु,१८ भदौ – नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले आफ्ना मागको सम्बोधन नगरेको भन्दै आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।

tankerनेपाल आयल निगम एवम् नेपाल सरकारले कार्यान्वयन गर्न वेवास्ता गरेकाले आगामी भदौ २१ गतेबाट आन्दोलन गर्ने चेतावनी दिएको हो ।

बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै महासंघले आफूहरुले पटक–पटक आयल निगम एवम सरकार समक्ष आफ्ना मागहरु राख्दा पनि कुनै सुनुवाई नभएको भन्दै बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताएको छ । महासंघले आफूले पटक–पटक निगम र सरकारलाई राख्दा पनि कुनै सकारात्मक पहल नभएका कारण बाध्य भएर आगामी भदौ ३१ गते नै देशभरिका ट्यांकरको साँचो निगम मार्फत सरकारलाई बुझाउने पनि चेतावनी दिएको छ ।

महासंघका अध्यक्ष खगेश्वर बोहराले ढुवानी नियामवली अनुसार कार्य गर्दापनि गत बैशाख १६ गते भैरहवा क्षेत्रमा तेल चोरी प्रकरणमा समातिएका व्यक्तिहरुको हवला दिएर ट्यांकर धनीलाई पनि सो कार्यमा संग्लग्न रहेको भनी झुठा मूद्या स्थानीय प्रशासनले लगाई १७ जना व्यवसायीहरुलाई वारेन्ट जारी गरेकोमा खेद प्रकट गर्दै सो कार्यमा संलग्न रहेका व्यक्तिहरुलाई कडा भन्दा कडा कारवाहीको माँग समेत गरेका छन् ।

बोहराले भने–निर्दोष व्यवसायीहरुलाई पनि एउटै खाल्डोमा हालेर राज्यले सम्पूर्ण व्यवसायीहरुलाई घरको न घाटको बनाएको छ । यसमा हाम्रो घोर आपत्ति छ । व्यवसायीहरुमाथि लगाएको झूठो मुद्धा तत्काल खारेज गरि केन्द्रबाट निष्पक्ष आयोग गठन गरि सो घटनाको वास्तविक छानविन हुनुपर्दछ ।
महासंघले करारमा राखिएका सम्पूर्ण ट्यांकरहरुको लगानी संरक्षण गर्नुपर्ने, सापेक्ष ढुवानी नियामावलीको यथाशिघ्र लागू गर्नुपर्ने, पेट्रोलियम पदार्थको सम्पूर्ण जोखिम विमा र एक्साईज ड्युटी निगमले गर्नुपर्ने लगायतका १० बुँदे माग अघि सारेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us