राैतहट, १८ भदाै – कृषिमन्त्री हरि पराजुलीको नक्कली स्वकीय सचिव भन्दै हिड्ने दुई व्यक्ति पक्राउ छन् । रौतहट प्रहरीद्वारा पक्राउ परेका दुई अभियुक्तले विभिन्न सरकारी कार्यालयका प्रमुख र सर्वसाधारणबाट लाखौं ठगेको तथ्य सार्वजनिक भएको छ ।
रौतहटको विसुनपुर्वा मानपुर–९ घर भई खेसरैया गाविसको प्राविधिक सहायक पदमा कार्यरत प्रमोदकुमार यादव र नापी शाखामा कार्यालय सहयोगीका रुपमा कार्यरत पचरुखी घर भएका अवधेश यादवले जिल्ला कृषि विकास कार्यालयका प्रमुख राजनारायण यादवसहित रौतहट, सर्लाही, बारा, पर्सा र नवलपरासीका दर्जनौँ सर्वसाधारणलाई विभिन्न मन्त्रालय र विभागमा जागिर लगाइदिने प्रलोभन दिँदै ठगी गरेको उजुरी परेपछि केही दिनअघि उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।
प्रहरीले उनीहरुको बयानका क्रममा लाखाै रुपैयाँ ठगी गरेको तथ्य सार्वजनिक भएको छ ।
मामा–भान्जाको सम्बन्ध रहेका ती दुवैले नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, निजामती सेवा तथा शिक्षण पेसामा जागिर लगाइदिने भनेर लाखौँ ठगी गरेको पनि खुल्न आएको छ ।
नवलपरासीस्थित कावासोतीका कृष्ण सिग्देललाई शिक्षक सेवा आयोगबाट शिक्षक पदमा स्थायी गराइदिने प्रलोभन दिएर रु तीन लाख ५० हजार लिएको, पर्सा पिपराका जाकिर महम्मदलाई शिक्षकमा जागिर लगाइदिने भनी रु तीन लाख ५० हजार ठगी गरेको उजुरी जिल्ला प्रहरी कार्यालय रौतहटमा परेको छ ।
उनीहरु बाहेक अन्य १२ जना शिक्षकलाई स्थायी गराइदिने भनेर लाखाँै रुपैयाँ ठगी गरेको प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक भिमप्रसाद ढकालले बताए ।
यस्तै प्रहरी कारबाहीमा परेका रौतहट सखुअवा–७ का पूर्व प्रहरीजवान रामसिंहासन यादवसित रु दुई लाख ५० हजार, नेपाल प्रहरीमा असई बनाइदिने प्रलोभनमा विशुनपुर्वा मानपुरका रणधीर कपुरबाट रु तीन लाख ५० हजार, राष्ट्रिय अनुसन्धानमा असई बनाइदिने प्रलोभन दिई बारा कोतबालीका रघुवंश मणि प्रसादसँग रु दुई लाख ५० हजार ठगी गरेको उजुरी परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ढकालले बताए ।