
काठमाण्डु, १८ भदौ– रोजगार अनुमति प्रणाली ‘ईपीएस’ मार्फत दक्षिण कोरिया जाने नेपाली कामदारको संख्या २५ प्रतिशत बढ्ने भएको छ ।
कोरियाले विदेशी कामदारको कोटा घटाए पनि नेपाली कामदारको संख्या भने बढाउन लागेको छ । सन् २०१४ अगष्टसम्म ईपीएसमार्फत पाँच हजार दुई सय नेपाली कामदार कोरिया पुगिसकेका छन् । सन् २०१३ मा पाँच हजार दुई सय २३ कामदार कोरिया गएका थिए ।
बाँकी अवधिमा एक हजार तीन सय बढी नेपाली कामदारको माग कोरियाबाट आउने अनुमान ईपीएस कोरिया शाखाको छ । यति माग आए गत वर्षभन्दा २५ प्रतिशत वृद्धि हुन आउने छ ।
ईपीएस कोरिया शाखा प्रमुख डिल्लीराम बाँस्तोलाले अवैध नेपाली कामदारलाई निरुत्साहित गर्ने कार्यक्रम सञ्चालन गर्नुका साथै कामदार पठाउने प्रक्रियामा पनि नेपाल उत्कृष्ट घोषणा भएकाले दक्षिण कोरियाबाट कामदारको माग बढेको बताए ।
सन् २०१३ मा दक्षिण कोरियाले १५ स्रोत मुलुकमध्ये पारदर्शी, न्यून लागत र छिटो तथा सहज ढंगले कामदार पठाएको भन्दै नेपाललाई पुरस्कृत गरेको थियो ।
‘गत वर्षको माग बराबर यो वर्षको नौ महिनामै आइसकेको छ,’ उनले भने, ’तीन महिनामा अझै माग आउन सक्छ ।’
दक्षिण कोरियाले यो वर्षको अन्तिम कोटा अक्टुबरबाट दिने भएको छ । दक्षिण कोरियाले छुट्याएको मध्ये १० हजार कोटा बाँकी छ ।