
चौतारा, १५ भदौ– सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोबाट अरनिको राजमार्ग अवरुद्ध भएपछि चीनको तिब्बतबाट अवैध सामानको ओसार–पसार हुन थालेको छ ।
राजमार्ग अवरुद्ध भएको मौका छोपेर तस्करहरुले इन्द्रावती करिडोर हुँदै राजधानीसम्म अवैध समान ओसारपसार तीव्र पारेका हुन् । तस्कर समूहले भोताङ गाविसमा पर्ने जुगल हिमाल शृङ्खलामा रहेको पासबाट अवैध सामान ढुवानी गरिरहेका छन् ।
लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्ने उक्त क्षत्रेबाट जडीबुटी र वन्यजन्तुको अवैध ओसारपसार तीव्र भएको हो । सो क्षेत्रबाट कस्तुरी र जडीबुटी चीनतर्फ गइरहेको छ भने चीनबाट सरकारले प्रतिबन्ध लगाएका महँगा सामान आयात भइरहेको छ । उच्च हिमाली क्षेत्रमा पर्याप्त चेकपोस्ट नरहेकाले तस्करहरुलाई सजिलो भएको छ ।