
काठमाण्डु, १४ भदौ– निक्षेप र कर्जाका आधारमा देशकै ठूलो वाणिज्य बैंक राष्ट्रिय वाणिज्य बैंकले आफ्नो स्वामित्वमा रहेको नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र नेपाल आवास फाइनान्स कम्पनी लिमिटेडका संस्थापक सेयरहरू सार्वजनिक प्रस्तावको माध्यमबाट बिक्री गर्ने भएको छ ।
राजधानीमा आयोजित पत्रकार सम्मेलनमा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद शर्माले बैंकको स्वामित्व रहेका नेपाल इन्भेष्टमेन्ट बैंकका ६२ लाख २० हजार ६६ कित्ता र नेपाल आवास फाइनान्स कम्पनीका एक लाख ९८ हजार ४९७ कित्ता संस्थापक सेयर बिक्री गरिने बताए ।
दुवै संस्थाका संस्थापक सेयर सर्वसाधारणलाई बिक्री गर्न नबील इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रवन्धक नियुक्त गरिएको र सेयर बिक्री यही भदौ १६ देखि ३० गतेसम्म हुने जानकारी उनले दिए ।
पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार लिलाम बिक्रीको माध्यमबाट बिक्री हुने इन्भेष्टमेन्ट बैंक लिमिटेडको प्रतिसंस्थापक सेयर बोलकबोल रकम ५३० र नेपाल आवास फाइनान्स कम्पनी लिमिटेडको प्रतिसंस्थापक सेयर १०१ कायम गरिएको छ । बोलकबोलका लागि न्यूनतम १०० कित्ता र त्यसभन्दा माथि १० अङ्कको गुणानमा बोलकबोल गर्नुपर्नेछ ।
राष्ट्रिय वाणिज्य बैंकले देशका विभिन्न २७ स्थान र बिक्री प्रबन्धक नविल इन्भेष्टमेन्टले एउटा गरी जम्मा २८ वटा बोलपत्र फाराम सङ्कलन केन्द्र स्थापना गरी निःशुल्क फाराम वितरण गर्ने भएका छन् ।