
पर्वत, १४ भदौ– क्रसर व्यवसायीले निर्माण सामग्रीको मूल्य दोब्बर बनाएका छन् । व्यवसायीले उद्योगमा मौजुदा रहेको ढुंगा(गिट्टी र बालुवाको मूल्य दोब्बर बनाएका हुन् ।
‘यसअघि ल्याएको गिट्टी बालुवालाई प्रतिटिपर १४ हजार तिर्दै आएकोमा अहिले २७ हजार तिर्नुपरिरहेको छ,’ सदरमुकाम कुश्मामा घर निर्माण गर्दै गरेका राजु पौडेलले भने, ‘गिट्टी(ढुंगामा भएको महंगीले घर बनाउन अड्कल गरेको पैसाभन्दा बढी खर्च हुने भयो ।’
उनले घरको आधा काम सकिए पनि महंगो र समयमा गिट्टी बालुवा नपाउँदा समस्या भएको बताए । कुश्मा-९ मा घर निर्माण गरिहेका राजन जोशीले पनि गिट्टी, बालुवाको मूल्य दोब्बर तिरेर खरिद गरेको बताए ।
‘स्टक सामान दोब्बर मूल्य नदिएसम्म नपाएपछि क्रसर व्यवसायीले भनेअनुसार नै रकम दिएको हुँ, उनले भने, ‘काम अधकल्चो बनाएर छाड्नु भएन, सक्नैपर्यो।’ उनले अहिलेसम्म दोब्बर मूल्य तिरेर सामान पाए पनि अब नपाउँने अवस्था रहेको बताए ।
‘क्रसर व्यवसायीले स्टक रहेको माल पनि सकियो भनेका छन्’, उनले भने, ‘अब एकतला कसरी पुरा गर्ने हो, समस्या छ ।’