काठमाण्डु, ५ भदौ– नेपालले मलेसियामा रहेका अवैध कामदारलाई स्वदेश फिर्ता ल्याउन पहल गर्ने भएको छ ।

नेपाल भ्रमणमा रहेका मलेसियाली मानव संसाधनमन्त्री दातुक रिचार्ड रियट जइमसँग नेपाली अधिकारीले त्यहाँ रहेका अवैध नेपाली कामदारको स्वदेश फिर्तीका लागि सम्भावित कानुनी उपायबारे छलफल गर्न लागेका हुन् ।
नेपालका तर्फबाट श्रमराज्यमन्त्री टेकबहादुर गुरुङ र जमइ नेतृत्वको नौ सदस्यीय टोलीबीच आज मलेसियामा रहेका नेपाली कामदारको व्यवस्थापनका विषयमा छलफल हुँदैछ । वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मलेसियामा ६ हजारभन्दा बढी अवैधानिक नेपाली कामदार छन् ।
वार्ताका क्रममा द्विपक्षीय श्रम सम्झौताका विषयमा समेत छलफल हुने परराष्ट्र मन्त्रालयका प्रवक्ता बुद्धिबहादुर खड्काले जानकारी दिए । मलेसियामा हाल झण्डै सात लाख नेपाली कार्यरत छन् ।