काठमाण्डु, २८ साउन – स्वास्थ्यमन्त्री खगराज अधिकारीले अफ्रिकी मुलुकहरुमा महामारीका रुपमा फैलिएको इबोला भाइरस नियन्त्रणका लागि
सरकारले सबै संयन्त्र प्रयोग गरिसकेको दाबी गरेका छन् ।
रिपोर्टर्स क्लबमा बुधवार भएको कार्यक्रममा अधिकारीले पश्चिम अफ्रिबाट विश्वभर फैलिएको उक्त रोगको प्रभाव नेपालमा पनि पर्ने भएकाले सरकारले यसको रोकथामका लागि सवै संयन्त्र प्रयोग गरिसकेको बताएका हुन् ।
‘इबोला विश्वभर फैलन सक्ने आशंकाका कारण विश्व स्वास्थ्य संगठनले अगस्ट ८ मै आपतकाल घोषणा गरिसकेकाले त्यसैका आधारमा नेपालमा पनि रोकथामका लागि सवै उपायहरुवारे तयारी गरिसकेको छ’, अधिकारीले भने, ‘हामी नियन्त्रणको लागि सक्रिय छौं ।’
अधिकारीले इबोला नियन्त्रणका लागि सरकारले सबै नाकामा हेल्थ डेस्क राख्ने निर्णय गरिसकेको पनि जानकारी दिए । पश्चिम अफ्रिकी मुलुकबाट नेपाल भित्रने नेपाली र विदेशी पर्यटकमाथि विमानस्थलमा चेकजाँच कडा पारिने उनले बताए ।