काठमाण्डु, २८ साउन– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा दुई देशलाई पारस्परिक फाइदा हुने गरी जलविद्युतसम्बन्धी पिटिए र पिडिए सम्झौता गर्ने कुरा थियो ।
तर त्यसले मूर्तरुप लिन पाएन । यसनिम्ति सत्ता साझेदार एमालेलाई दोषी देखाइयो तर के वास्तवमै कांग्रेस आफैं चाहिँ यस निम्ति तयार थियो त ? १७ गते बिहान बालुवाटारको यो प्रसंगले अर्कै गन्ध दिएको छ ।
कांग्रेसकै नेताहरुले यो खेललाई सरकार ढाल्ने अभियानको रुपमा व्याख्या गर्छन । यो दिन बिहान बालुवाटारमा एमाले अध्यक्ष केपी ओलीको सन्देश लिएर बामदेव गौतम सुशील कोइरालालाई भेट्न जाँदा उनले भनेका थिए, ‘एमालेले डिस्टर्व गर्योव भन्दिन्छु म, मोदी र प्रेसलाई’ अध्यक्षको सन्देश सुनाउँदै गौतमले, ‘हामीले पिटीएको मुखै देख्या छैन, भोलि कताबाट के–के आरोप आउला, सिद्धान्ततः यसको विरोधी होइनौं, पछि सम्झौता गरौला ।’
भन्नासाथ सुशील यसरी बम्किएका हुन् भन्दै थिए, ‘कोलिसन पार्टनरले मानेनन, भन्दिन्छु ।’ गौतमले जवाफ फर्काए, ‘त्यसै भन्दा तपाईंको हित हुन्छ भने भन्दिनुहोस् ।’
गौतम निस्कदाँ रामचन्द्र पौडेल, शेरबहादुर देउवाहरु पालो पर्खेर बसिरहेका थिए । देउवाले भने, ‘हामी सुशीलजीलाई सम्झाउँछौं । बुझ्दै नबुझी सही गर्ने कुरा त आउँदैन नि तपाई नआत्तिनुस् ।’ जबकी रामशरण महतको चाहिँ जुनसुकै हालतमा यो अहिले नै पास हुनुपर्छ भन्ने जिकिर थियो ।
जनआस्था साप्ताहिकबाट