गाविस सचिवको लापरबाहीले शव विदेशमा अलपत्र

काठमाण्डु टुडे २०७१ साउन २७ गते ११:२२ मा प्रकाशित

 महोत्तरी, २७ साउन – गाविस सचिवको लापरबाहीका कारण महोत्तरीको सिमरदही गाविसका एक युवकको शव विदेशमा अलपत्र परेको छ ।सिमरदही गाविसका सचिव गुलाव चौधरीले मृतक युवक सिमरदही गाविस-२ बस्ने ३१ वर्षीय महेश मण्डलको नाउँमा मृत्यु दर्ता प्रमाणपत्र नबनाइदिँदा उनको शव खाडी मुलुक साउदी अरबमा अलपत्र परेको छ ।

एक महिनापूर्वमात्रै वैदेशिक रोजगारीका लागि साउदी गएका युवक मण्डल साउन २० गते राति साथीहरुसँग सुतेकामा भोलिपल्ट मृत अवस्थ्ाा फेला परेका थिए । युवक मण्डलको मृत्युको खबरपछि परिवारजनले मृतक युवकको शव मगाउन खोज्दा मृत्युदर्ता प्रमाणपत्र आवश्यक रहेको र गाविस सचिव चौधरीले त्यस्तो प्रमाणपत्र नबनाइदिएपछि मण्डलको शव विगत एक सातादेखि साउदीबाट आउन नसकेको कुरा उनकी पत्नी प्रमिलादेवी मण्डलले बताएकी छिन् ।

सुरुमा सचिव चौधरीले आलटाल गरेर टारे भने पाँचदिनदेखि उनी गाविसको कार्यालयमा समेत आउन छाडेका छन् । उनलाई फोन गर्दा फोन पनि उठाउन छाडेको मृतकका दाजु विकरु मण्डलले बताए । सचिव चौधरीको अत्तोपत्तो नरहेको र फोनसमेत उठाउन छाडेपछि पीडित मण्डल परिवार आफ्ना समस्या लिएर मंगलवार जिल्ला सदरमुकामस्थित सचिवहरुको मुख्य कार्यालय जिल्ला विकास समितिमा आइपुगेका छन् । उनीहरुले आजै स्थानीय सञ्चारकर्मीहरुमाझ आफ्ना पीडा सुनाएका छन् ।

स-साना तीन छोरी र एक छोराका पिता मण्डल एक महिना अघि रु एक लाख ५० हजार ऋण काढेर वैदेशिक रोजगारीमा गएका थिए ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us