
कालिकोट, २७ साउन – कालिकोटबाट एकैचोटि सचिवहरु बाहिरिँदा सेवाग्राहीलाई समस्या भएको छ । छाप्रे, चिल्खाया, धौलागोह, सुकाटिया, राँचुलीलगायतका ११ वटा गाविसका सचिवहरु सदरमुकाममा नरहेको बताइएको छ । तीस गाविस रहेको यस जिल्लामा पछिल्लो समयमा ११ जना सचिव एकै समयमा बाहिर जाँदा समस्या आएको हो ।
जिल्ला विकास समिति कालीकोटले मान्म र दाँहा गाविसको जिम्मा लिँदै आएका सचिवलाई एक पत्र लेखी अनिश्चितकालका लागि भन्दै थप ११ गाविसको जिम्मेवारी दिएको छ । मान्म गाविसका सचिव रामहरि अधिकारीलाई आज पठाइएको चलानी नं ११२ को स्थानीय विकास अधिकारी टीकाराम ज्ञवालीद्वारा हस्ताक्षरित पत्रमा सेवाग्राहीको काम नरोकिने गरी कामकाज गर्नु भनी निर्देशन दिइएको छ ।
निमित्तको जिम्मा लिएका सचिव अधिकारीले बिहान र बेलुका एक मिनेट फुर्सद नहुने गरी काम गर्नुपरेको गुनासो पोखे । उनले भने-एक त स्थानीय निकाय छैन, त्यसमाथि दोहोरो कामको जिम्मा आएको छ ।
एघार गाविसका सचिवमध्ये रकु गाविसका सचिव दुर्गबहादुर बुढा किरिया बिदामा छन् भने कमल घर्ती जुम्ला गएका छन् । बाँकी सबै सचिवहरु सम्बन्धित गाविसमा गएको बताइएको भए पनि को कहाँ छन् भन्ने जानकारी सेवाग्राहीलाई छैन । जिल्लामा कार्यालय प्रमुख मात्र होइन गाविस सचिवलगायतका कर्मचारी एकै समयमा जिल्ला खाली गरी जाने प्रवृत्ति बढ्दै गएको छ ।
कालीकोटका सचिवहरुले अहिले अधिकांश गाविसका भवन नभएका कारण गाविसबाट भन्दा सदरमुकामबाटै हरेक सेवा दिँदै आएका छन् ।