काठमाण्डु, २७ साउन– गुण्डा नाइके भनिएका दिनेश अधिकारी ‘चरी’ को प्रहरी कारबाहीमा ज्यान गएको विषयलाई लिएर एमालेले आज संसद
तताउने भएको छ ।
आफ्नो पार्टीको धादिङ क्षेत्र नम्बर–२ का पूर्वउपाध्क्षसमेत रहेका चरीको मृत्युबारे आज संसदमा हंगामा मच्चाउने भएका हुन् । खास गरी धादिङका सभासदहरु राजेन्द्र पाण्डे, गुरुप्रसाद बुर्लाकोटी, गंगालाल तुलाधरलगायतले संसदमा बोल्ने तयारी गरेका छन् ।
यसअघि शुक्रबारको बैठकमा सभामुख सुवास नेम्वाङले रोक्दा रोक्दै पाण्डेले चरीको हत्या भएको भन्दै छानबिनको माग गरेका थिए ।
अघिल्लो दिन चरी हत्याबारे सरकारको जवाफ मागेका पाण्डे भोलिपल्ट उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले दिएको जवाफबाट सन्तुष्ट हुन सकेनन् । गौतमले प्रहरीले पक्राउ गर्न खोज्दा उल्टै प्रहरीमाथि गोली चलाएकाले जवाफी कारबाहीमा चरी मारिएको बताएका थिए ।
नेम्वाङले मन्त्रीले जवाफ दिएपछि बोल्न नमिल्ने भन्दै रोके पनि पाण्डेले गृहमन्त्रीले प्रहरीले लेखेर दिएको रिपोर्ट पढेको भन्दै आपत्ति जनाए । ‘म अहिले त चुप लागेर बसौंला सभामुख महोदय’, पाण्डेले त्यस दिन भनेका थिए’, तर यो केस चुप लागेर बस्दैन ।’
उनले घटना छानबिनका लागि संसदीय समिति गठन नभए सदन बहिस्कार गर्ने चेतावनी दिएका छन् । संस्द सचिवालयका अनुसार दिउँसो १ बजेपछि बस्ने आजको बैठकमा सिन्धुपाल्चोक पहिरो पीडितलाई राहत उपलब्ध गराउने विषयमा छलफल गर्ने कार्यसूची छ ।