
काठमाण्डु, २७ साउन–नेकपा एमालेको दोश्रो केन्द्रीय कमिटी बैठक आज बस्दैछ ।
मध्यान्ह एक बजे पार्टी मुख्यालय बल्खुमा बोलाइएको छ । नवौं महाधिवेनपछि दोश्रोपटक बस्न लागेको बैठकमा पोलिट्ब्युरो र स्थायी समिति सदस्य चयन तथा कार्यविभाजनलगायत विषयमा छलफल हुने सचिव योगेश भट्टराईले जानकारी दिए ।
संस्थापन र माधव नेपाल समूहले पोलिट्ब्युरो र स्थायी समितिमा आफ्ना मान्छे बढी मनोनित हुनुपर्ने दाबी गर्दै आएका छन् ।
मनोनयनबारे परामर्श नगरेको भन्दै नेपाल पक्ष अध्यक्ष केपी शर्मा ओलीसँग आक्रोशित भएको छ । यस्तै पोलिट्ब्युरो सदस्य बन्द एक कार्यकाल केन्द्रीय सदस्य भएको हुनैपर्ने प्रावधानलाई लिएर विरोध भएको छ ।
स्रोतका अनुसार बैठकमा केही दिनअघि प्रहरी कारबाहीमा मारिएका गुण्डा नाइके भनिएका दिनेश अधिकारी ‘चरी’ को विषयले समेत प्रवेश पाउने भएको छ । एमालेले दोहोरो भिडन्तका नाममा चरीको हत्या गरेर शव फालिएको दाबी गर्दै आएको छ । स्रोतका अनुसार बैठकमा धादिङका नेताहरु राजेन्द्र पाण्डे, खेम लोहनीलगायतले चरीको विषय प्रवेश गराउने छन् ।
पाण्डेले बैठकमा उपप्रधान एव्म गृहमन्त्रीसमेत रहेका उपाध्यक्ष बामदेव गौतमको उछितो काड्ने बुझिएको छ । गौतमले संसद् बैठकमा चरी दोहोरो भिडन्तमा मारिएको बताएपछि पाण्डे प्रहरीले लेखिदिएको रिपोर्ट पढेको भन्दै गौतमविरुद्ध खनिएका थिए ।