काठमाण्डु ,२१ साउन– भनिन्छ, दुःखले नै सुखको बाटो सिकाउँछ । सल्यानका १२ जना युवाको हकमा पनि त्यही लागू भएको छ ।
रोजगारीका लागि मलेसिया पुगेका सल्यानी युवाले मलेसियामै एउटा नमुना योजनाको रुपरेखा तयार पारे ।
नेपाल फर्केर मलेसियामा कागजमा बुनिएको त्यही योजनालाई अहिले व्यवहारिक रुप दिन युद्धस्तरमा जुटेका छन् ती युवा । ‘स्वदेश फर्केर सामूहिक रुपमा गर्ने योजना थियो हाम्रो,’ नेपाल फर्केर सल्यान जिल्लाको छाया क्षेत्र गाउँ विकास समितिको लान्ती नुमना एकीकृत कृषि समूह खोलिसकेका १२ मध्येका एक लोकराज भण्डारीले भने , ‘अहिले त्यही योजना कार्यान्वयन गर्दैछौं ।’
मलेसियामा यो योजना बनाउँदा भने उनीहरु सँगै थिएनन् । ‘मलेसियामा सबैको भेट भएको थिएन, कसैलाई फोन गरे, सामाजिक सञ्जालबाट कुराकानी गरेर योजना तयार पारेका हौं,’ भण्डारीले भने । सोही योजनाअनुसार आफूहरु स्वदेश फर्केर नमुना एकीकृत कृषि समूह खोली काम सुरु गरेको भण्डारीले बताए ।
गुगल अर्थबाट मलेसियामै जग्गा खोजेको बताउँदै संस्थाका अध्यक्ष शान्तबहादुर पुनले भने ‘समूहमा अहिले हामी १२ जना छौं, मलेसिया गएका अरु साथीहरु पनि यो संस्थामा आवद्ध हुनेछन् ।’
१८ लाखको लागतबाट सुरु गरिएको नमुना एकीकृत समूहमा १० लाख ऋणसमेत गरी अहिले ५० लाखको कारोबार भइरहेको छ । उत्पादन र बजारीकरण पनि समूहले नै गरेपछि आयआर्जन बढेको भण्डारीले बताए ।
उनका अनुसार २०६९ माघ १ गतेदेखि समूहले उत्पादन सुरु गरेको थियो । फर्ममा कुखुरा, माछा र तरकारी उत्पादन भइरहेको छ । भर्खरै देखि बाख्रा र बंगुरपालन थालिएको छ ।