काठमाण्डु, २६ साउन – प्रहरीको ‘क्रस फायरिङ’मा मारिएका डन दिनेश अधिकारी ‘चरी’को प्रेमिका खुश्बु ओलीले प्रेमी चरीको पैसाले घर किनेको पुष्टि गरेर देखाउन चुनौती दिएकी छिन् ।
सोमबार विभिन्न दैनिक पत्रिकामा छापिएका ‘चरीको प्रेमिका खुश्बुको घर प्रहरी छानबिनमा’ भन्ने समाचारको खण्डन गर्दै यस्तो बताएकी हुन् ।
खुस्बुले हालै धापाखेलमा सिभिल होम्सभित्र किनेको घरमा चरीको लगानी रहेको सूचना पाएपछि प्रहरीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागसँग मिलेर छानबिन गर्न लागेको हो । ‘धापाखेलस्थित सिभिल होम्सको घर नम्बर २४ चरीले अवैध रूपमा कमाएको पैसाबाट किनिएको भन्ने सूचना आएको छ,’ अपराध महाशाखाका एक अधिकारी भन्छन्, ‘योसहित उनका अन्य लगानीबारे हामी सूचना बटुलिरहेका छौँ ।’
आफूलाई ठगेर सो घर किनेको भन्दै मित्तल थरका एक व्यवसायीले प्रहरीमा मौखिक उजुरी दिएका छन् । एक करोड रुपैयाँभन्दा बढी तिरेर सो घर किनेको स्रोत बताउँछ ।
ओलीले ‘म हुने खाने परिवारको सदस्य हुँ’ भन्दैे चरीको पैसा नचलाएको स्पष्ट पारेकी छिन् ।
उनले प्रहरीको अनुसन्धानमा म र मेरो परिवारले सहयोग गर्ने र प्रहरीलाई चाँडै छानबिन गरेर सत्य–तथ्य पत्ता लगाएर सार्वजनिक गर्न आग्रह गरेकी छिन् ।
‘म कसैको पैसा चलाएर खानु पर्ने व्यक्ति होइन’ ओलीले भनिन्, ‘आफ्नै हैसियत भएको परिवारलाई यस्तो अनर्गल फैलाउँदा दु:ख लागेको छ । ’