काठमाण्डु, २६ साउन– नेकपा एमालेको मंगलबारबाट हुने दोस्रो केन्द्रीय कमिटि बैठकले स्थायी कमिटि र पोलिटब्युरो गठन, विभाग तथा
भूगोलको कमिटिमा इन्चार्जको जिम्मेवारी निर्धारण गर्ने भएको छ ।
बैठकको निर्णयसँग नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीको पनि पार्टी संचालनको परीक्षा सुरु हुने छ । एमाले सचिव योगेश भट्टराईले आगामी बैठकमा महत्वपूर्ण विषयमाथि छलफल हुने भएकाले दोस्रो बैठकले अबका पाँच वर्ष पार्टी कसरी संचालन हुन्छ भन्ने संकेत गर्ने बताए ।
‘पार्टी सहमतिका आधारमा अघि बढ्छ कि संख्याको हिसाबमा भन्ने कुरा अध्यक्षबाट कार्य विभाजनसहितको विषयमा आउने प्रस्तावले निर्धारण गर्नेछ,’ उनले भने ।
केन्द्रीय सदस्य पशुपति चौलागाईंले पनि पहिले पार्टीको कुनै पनि कमिटिको प्रमुख नभएका ओलीका लागि पार्टी अध्यक्षको हैसियतमा चुनौतीको समय सुरु भएको बताए ।
‘कस–कसलाई स्थायी कमिटीमा ल्याउनेछन् भन्ने कुराले पनि ओलीको कार्यशैली झल्किनेछ,’ उनले भने । हाल रहेका १५ पदाधिकारीमा वरिष्ठ नेता झलनाथ खनाललाई स्वतन्त्र राख्दा ओली र अर्का नेता नेपाल पक्षको संख्या सात सात छ ।
अध्यक्षको मत कुनै पनि विषयमा मत बराबरी भएको अवस्थामा मात्रै निर्णायक हुन्छ ।
नागिरक दैनिकबाट