पारसलाई बैंककमा बिजनेस भिसा

काठमाण्डु टुडे २०७१ साउन २६ गते २:२७ मा प्रकाशित

काठमाण्डु, २६ साउन– पूर्वयुवराज पारस शाह थाइल्याण्डबाट तत्काल नेपाल नफर्कने भएका छन् ।

parasअहिलेसम्म स्टुडेन्ट भिसामा बस्दै आएका उनले अब बिजनेस भिसा अप्लाई गरेका छन् । आगामी बुधबार पारसको बिजनेस भिसा लाग्ने उनका सहयोगीले जानकारी दिएका छन् ।
पासरको स्टुडेन्ट भिसाको म्याद २१ साउनमा सकिएको थियो । म्याद सकिनुअघि नै उनले बिजनेस भिसाका लागि १६ साउनमा निवेदन दिएका थिए।

पारसको भिसा प्रक्रिया मिलाउन उनका साथी राजेशसिंह केही दिनअघि नै बैंकक गएका थिए । भिसाका लागि कागजात मिलाउने काम सिंहले नै गरेका छन् ।

थाइल्याण्डमा रहेका नेपालीले भिसाका लागि पारसलाई सहयोग गरेको उनका साथीहरुको भनाइ छ । स्रोतका अनुसार भिसा थपिने भएपछि पारस उनकी थाइ प्रेमिका कन्निकाको घरमा गएका छन् ।

पारसको लागुपदार्थसम्बन्धी मुद्दामा २ भदौमा थाइल्यान्डको अदालतमा सुनवाइ हुँदै छ । सुनुवाइका लागि यसअघि १९ साउनमा अदालतले बोलाएको थियो । तर, उनी अदालतमा ढिलो पुगेपछि उनका वकिलहरूले म्याद थप गर्न आग्रह गरेका थिए ।

वकिलको आग्रहपछि अदालतले सुनुवाइ मिति २ भदौका लागि तोकेको हो । गाँजा सेवन गरेको अभियोगमा पक्राउ परेका उनी ६५ हजार थाई भाट धरौटी बुझाएर छुटेका थिए ।

पारस  बैंकक बस्न थालेको चार वर्ष हुँदै छ । ११ भदौ ०६७ मा उनी बैंकक गएका थिए । उनले नेपाल आउने सन्देश पठाएपछि पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल निर्मलनिवास छोडेर नागार्जुन सरेका छन् । पारस तत्काल नआए पनि उनीहरू दसैँसम्म नागार्जुन नै बस्ने भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us