काठमाण्डु, २६ साउन–गाइजात्रा पर्व आजदेखि विधिवत रुपमा सुरु हुँदैछ ।
श्रावण शुक्ल पूर्णिमा अर्थात जनैपूर्णिमाको भोलिपल्टबाट सुरु हुने गाईजात्रा आठ दिनसम्म विभिन्न कार्यक्रमका साथ मनाइन्छ ।
काठमाण्डु उपत्यकाका तीनवटै जिल्लाका साथै काभ्रेको बनेपा, धुलिखेल र पनौती, सिन्धुपाल्चोकको बाह्रबिसे, नुवाकोटको त्रिशूली, पाल्पाको तानसेन, दोलखा बजार, खोटाङको दित्तेल, रामेछापको मन्थलीलगायत सहरमा हर्षोल्लासका साथ यो पर्व मनाउने गरिएको छ ।
गाइजात्रामा एक वर्षसम्म दिवङ्गत आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईको रुपमा सिँगारी आ–आफ्नो टोलमा घुमाउने चलन छ । गाईजात्राका सम्बन्धमा विभिन्न भनाइ प्रचलित छन् ।
बसैले राजा प्रताप मल्लले पुत्रको अल्पायुमै निधन भएपछि रानीले धेरै बिलौना गर्न थालेको र यस्तो शोक अरुलाई पनि पर्ने गरेको भन्ने देखाउन गाइजात्रा निकाल्न लगाएको विश्वास गरिन्छ ।
गाईलाई सहर घुमाएर मात्र रानीले चित्त नबुझाएपछि राजाले हास्यव्यङ्ग्यात्मक कार्यक्रम सुरु गर्न लगाएको मानिन्छ ।
गाइजात्राका अवसरमा विभिन्न हास्य समूहहरुले हास्यव्यङ्गात्मक प्रस्तुति देखाउने गरेका छन् ।