चार दिनदेखि बन्द पूर्वाञ्चल खुल्यो

काठमाण्डु टुडे २०७१ साउन २५ गते १२:४४ मा प्रकाशित

बिराटनगर, २५ साउन – चार दिनदेखि कोशी अञ्चलमा भएको यातायात बन्द स्थगित भएको छ ।

उज्यालो यातायात सहमतिमा आउने भएसँगै बन्द तत्कालका लागि स्थगित गरिएको कोशी बस ब्यवसायी संघका अध्यक्ष कृष्ण सुबेदीले जानकारी दिए ।

कोशी अञ्चल अन्तर्गतका ९ वटा संघसंगठनले गरेको बन्द कार्यक्रम जनैपूर्णिमा, बोलबम मेला र गार्इजात्रालगायतका चाडपर्वलाई मध्यनजर गर्दै स्थगित गरिएको सुबेदीले जानकारी दिए। यातायात ब्यवसायी संघसंगठनहरुको धरानमा बसेको बैठकले बन्द स्थगित गर्ने निर्णय गरेको हो ।

उनका अनुसार बिर्तामोडबाट सुरु भएको उज्यालो यातायातले पनि अस्वस्थ प्रतिस्पर्धा नगर्ने र एकै ठाउँमा बसेर आलोपालो प्रणालीमा चलाउने सहमतिसँगै मेचीको बार्ता पनि सहमति नजिक पुगेको छ ।

यात्रुहरुले दुःख पाएको र ब्यवसायी पनि बोलबम मेलामा सवारीका साधन थन्क्याएर बस्नु पर्ने अवस्थाले गर्दा सबै मिलेर जाने गरी सहमति खोज्ने प्रयास गरिएको सुबेदीले बताए ।

राष्ट्रिय यातायात व्यवसायी सर्वोच्च महांसघले पूर्वाञ्चलमा भइरहेको यातायातको सिन्डीकेट तोड्ने चेतावनी दिए लगत्तै पूर्वाञ्चलमा गाडी सञ्चालन गरिरहेका फरक फरक संघका व्यवसायीहरु सहमति नजिक पुगेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us