काठमाण्डु, साउन २५ – नेपाल पूर्व प्रहरी संगठनले संविधानसभामा आफूहरुको पनि प्रतिनिधित्व हुनुपर्ने भन्दै २६ जनामा मनोनित गर्न सरकारसंग माग गरेको छ ।
आईतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै नेपाल पूर्व प्रहरी संगठनले पूर्व प्रहरीहरुले मुलुकलाई ऐतिहासिक योगदान गरेको भन्दै योगदानको कदर गर्दै सरकारले मनोनित गर्ने २६ जना सभासदमा आफूहरुको तर्फबाट एक जनालाई मनोनित गर्नुपर्ने माग गरेको हो ।
नेपाल पूर्व प्रहरी संगठनका महासचिव वसन्तराज कुँवरले मुलुकको थुप्रै परिवर्तनहरुमा पूर्व प्रहरीहरुले ठूलो योगदान गरेको स्मरण गर्दै अब बन्ने संविधानमा पनि आफ्ना अमूल्य सुझाव तथा धाराणाहरुलाई राख्न पनि संविधानसभामा एक जनाको प्रतिनिधित्व हुनुपर्ने बताएका छन् ।
कुँवरले भने–हामी राज्यको माथिल्लो निकायदेखि तल्लो निकाय सम्म प्रतिनिधित्व गर्नेहरुको सँगठन हो यो नेपाल पूर्व प्रहरी संगठन त्यसैले सूरक्षा सम्बन्धको विशेषज्ञका हैसियतले पनि हामीलाई पनि संविधान सभामा सहभागी गराउनुपर्छ ।
कार्यक्रममा संगठनका सल्लाहकार डा. चुँडा श्रेष्ठले भूतपूर्व प्रहरीहरुलाई संगठित गरि उत्पादक बनाउन र समाज सेवामा लगाउन आफ्नो संगठनले देशका २४० वटै निर्वाचन क्षेत्रमा ईकाई विस्तार गरेको बताउँदै आगामी बन्ने संविधानमा संघियता प्रणालीमा जाँदा कुन प्रकारको सुरक्षा चुनौती आउन सक्छ र त्यसलाई व्यवस्थापन गर्न संविधानमा के कस्ता प्रावधान राख्दा उचित हून्छ भन्ने सल्लाह दिन पनि आफूहरु सक्षम रहेको बताएका छन् । उनले भने–संविधान सभामा हाम्रो पनि सहभागी हुनुपर्छ । हामीले हाम्रो तर्फबाट जम्मा एक जनाको प्रतिनिधित्व हुनुपर्छ भनेका हौं ।
त्यस्तै पूर्वप्रहरी अतिरिक्त महानिरिक्षक कल्याण तिमिल्सिनाले आफूहरु पनि राज्यको जिम्मेवार नागरिक भएको बताउँदै विगतमा भएका राजनीतिक परिवर्तनहरुमा पूर्वप्रहरीरुले ठूलो योगदान दिएको बताएका छन् ।
तिमिल्सिनाले आफूहरुको पनि संविधान सभामा प्रतिनिधित्व हुन सके अब बन्ने संविधानमा सूरक्षा सम्बन्धी महत्वपूर्ण अवधाराणा राख्ने, संघियातमा जाँदा आउन सक्ने चुनौतीलाई कसरी समाधान गर्ने लगायत विषयमा उल्लेखनिय योगदान दिन सक्ने हुँदा २६ जनाको मनोनितमा १ जनालाई मनोनित गर्नुपर्ने माँग गरेका छन् ।
नेपाल पूर्वप्रहरी संगठनले संविधान सभामा प्रतिनिधित्व गर्ने सवै राजनीतिक दलका अध्यक्ष, सम्माननीय राष्ट्रपती , सम्माननीय प्रधानमन्त्री र संविधान सभाका अध्यक्ष लगायत सवै सरोकारवाला पक्षसँग आफना् संगठनबाट पनि संविधान सभामा १ जनाको प्रतिनिधित्व गराईयोस भनेर अनुरोध गरेको छ ।
कार्यक्रममा पूर्व प्रहरी उच्च अधिकृतहरुको पनि उपस्थिती रहेको छ ।