
काठमाण्डु, २५ साउन – एकीकृत माओवादी नेता देवेन्द्र पौडेलले पार्टीले गरेको कारवाही आफूहरुलाई अस्विकार्य रहेको बताएका छन् । दिनदिनै कोठे बैठक बस्ने प्रचण्ड र बाबुरामलाई पहिले कारवाही गर्नुपर्ने आग्रह गरेका छन् ।
सवैभन्दा पहिला त बाबुराम र प्रचण्डलाई कारवाही गर्नुपर्छ हामीलाई किन ? उहाँहरुले पनि कहिले लाजिम्पाट त कहिले सानेपामा आ–आफ्ना गुटको भेला गरिहनुभएकोे छ । त्यसैले कारवाहीको भागीदार उहाँहरु नबन्ने ?
पार्टीले केन्द्रीय सदस्य समेत नरहने गरि गंगा श्रेष्ठ र रामरिजन यादवलाई गरेको कारवाही आफूहरुलाई मान्य नभएको पनि पौडेलले बताएका छन् । उनले पार्टीभित्रको आन्तरिक विवाद समाधान गर्न पनि समान्तर समिति भंग गर्नुपर्ने धाराण राखेका छन् । त्यसको लागि तत्काल केन्द्रिय समितिको बैठक बोलाएर छलफल गर्नुपर्ने बताए ।
उनले भने–पार्टीका केही नेताहरु पूर्व–पश्चिमको दौडाहामा गएर हामीलाई कारवाही गर्नुपर्छ भनेर भनिरहनुभएको छ उहाँहरुलाई किन कारवाही नगर्ने ? केन्द्रिय समितिको बैठकमा पार्टीको विशेष महाधिवेशन बोलाउने बारेमा छलफल हुन्छ । र सवै विवाद विशेष महाधिवेशनले मात्रै समाधान गर्न सक्छ ।
पौडेलले मुलुकलाई संविधान नदिउनजेलसम्म प्रचण्ड र बाबुराम मिलेर जानुको विकल्प नरहेको पनि बताएका छन् । उनले प्राप्त उपलब्धिलाई संस्थागत गर्न, मुलुकमा संघिय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान दिन पनि दुवै नेता मिल्नुपर्ने स्पष्ट पारेका छन् ।
उनले भने–दुवै नेता संविधान निर्माणका लागि जिम्मेवार हुनुहुन्छ, त्यसैले संविधान जारी नहुन्जेलसम्म पनि उहाँहरु सँगै बस्नु पर्छ । यसैका लागि अहिले वार्ता, छलफल भैरहेको छ । हामी आशावादी छौं, उहाँहरु मिल्नुहुन्छ । जनताको ठूलो लगानीले पार्टी निर्माण भएको भन्दै पौडेलले आन्तरिक वैचारिक छलफललाई निरन्तरता दिँदै एकताबद्ध भएर अगाडी बढ्नुपर्ने धाराणा राखेका छन् ।
अहिले सरकार गिराउने र बनाउनेको खेलमा लाग्न नहुने धाराणा राखेका छन् । पौडेलले पनि सरकार परिवर्तनको खेलमा दलहरु लागे समयमै संविधान नआउने ठोकुवा गरे । उनले भने–अहिले संविधान निर्माण नै मूख्य दायित्व हो । यसबाट कोही पनि पछि हट्नु हुँदैन् । उनले आफ्नो पार्टीले सरकार परिवर्तनको विषयमा कुनै चासो नलिएको पनि बताए ।
पौडेलले सरकार अत्यन्तै धिमा गतिमा चल्दा आशातित उपलब्धी हासिल गर्न नसकेको गुनासो गर्दै प्रधानमन्त्री सुशिल कोइरालाले सरकारको गतिलाई बढाउनुपर्ने सुझाव समेत दिए ।