काठमाण्डु, २५ साउन– प्रहरीले दिनेश अधिकारी ‘चरी’ को सम्पर्क जालो र सम्पत्तिका बारेमा अनुसन्धान अगाडि बढाएको छ ।

यसका लागि महानगरीय प्रहरी अपराध महाशाखाले चरीको समूहमा रहेकाहरू र उनको सम्पत्ति पहिल्याउन टोली नै खटाएको छ ।
आपराधिक गतिविधबाट आर्जन गरेको सम्पत्तिको स्रोत खोज्ने प्रहरी सूचीमा चरीको नामसमेत थियो ।
केन्द्रीय अनुसन्धान ब्यूरोले दीपक मनाङ्गे, चक्रे मिलन, गणेश लामा, अभिषेक गिरी र परशुराम बस्नेतको सम्पत्ति स्रोतसँगै चरीको पनि सम्पत्ति स्रोत खोज्दै आएको थियो ।
अन्य पाँचको अनुसन्धान सकिएर विशेष अदालतमा मुद्दा दायर भइसकेको छ। चरीको भने अनुसन्धान जारी नै थियो ।
चार वर्षअघि अपराध महाशाखाले गुण्डागर्दीमा कहलिएकाहरूको सम्पत्ति विवरण संकलन गर्दा चरीको धादिङमा–१ सय मुरी खेत र बालुवाखानी रहेको खुलेको थियो ।
अनुसन्धानरत स्रोतका अनुसार बुधबार मुठभेडमा मारिएपछि प्रहरीले चरीसँग निकट र पारिवारिक सदस्यहरूको चल(अचल सम्पत्ति विवरण संकलन तीव्र बनाएको छ ।
महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख एसएसपी पुष्कर कार्कीले चरीको सम्पर्क जालो र सम्पत्तिलाई प्राथिमकता दिएर खोजी गरिरहेको जानकारी दिए ।
नागरिक दैनिकबाट