सल्लेरी, २४ साउन– एकीकृत माओवादी स्थायी समिति सदस्य लोकेन्द्र विष्टमगरले नेता बाबुराम भट्टराईलाई पार्टी जिम्मा लगाउन नसकिने
बताएका छन् ।
सोलुखुम्बुको सल्लेरीमा शनिबार आयोजित पत्रकार सम्मेलनमा विष्टले बाबुरामले नेतृत्व माग्दैमा नपाउने बताएका हुन् ।
पार्टीमा अझै प्रचण्डको नेतृत्वको आवश्यकता रहेकाले नेतृत्व परिवर्तनको असान्दर्भिक बहस नगर्न उनको भट्टराईलाई आग्रह थियो । ‘पार्टीलाई अध्यक्ष प्रचण्डको नेतृत्वको खाँचो छ’, विष्टले भने, ‘पार्टी बाबुरामजीको जिम्मा लगाउन सकिंदैन ।’
नेतृत्व परिवर्तन भए पनि प्रचण्डपछिको नेता भट्टराई नभई युवा पुस्तामा नेतृत्व जाने बताए । एउटै उमेर समूहका नेताहरु एकैपटक राजनीतिबाट बिदा हुने भएकाले प्रचण्डपछि बाबुराम, नारायणकाजी श्रेष्ठ र पोष्टबहादुर बोगटी पार्टीको मुख्य नेता हुन नसक्ने उल्लेख गरे ।
विष्टले जिल्लाजिल्लामा समानान्तर कमिटी बनाएर भट्टराई पक्षले नाटक मञ्चन गरिरहेको आरोपसमेत लगाए । पार्टी हितविपरीत समानान्तर कमिटी गठन गर्ने सबैमाथि कारबाही हुने चुतावनी दिए ।